सरकारले देशभरका होल्डिङ सेन्टरमा रहेका सुकुमवासी युवाहरूलाई लक्षित गरी विशेष रोजगारीको योजना ल्याउने भएको छ।
आइतबार बोडेस्थित होल्डिङ सेन्टरमा सुकुमवासीसँग भेट गर्दै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सुकुमवासीलाई रोजगारी सुनिश्चित गर्न आवश्यकता पहिचान गरी त्यहीअनुसारको सिप विकास तथा रोजगार कार्यक्रम ल्याउने बताए।
‘यस कार्यक्रमले युवाहरूलाई आर्थिक रूपमा सबल बनाउन मद्दत गर्नेछ, ‘मन्त्री यादवले भने। यसका लागि युवा, रोजगार तथा श्रम मन्त्रालयको आन्तरिक रोजगार महाशाखा र त्यसअन्तर्गतका शाखाहरूले गृहकार्य गरिरहेका छन्।
सुकुमवासी युवाहरूलाई लक्षित गरेर सिप, क्षमता विकास तथा रोजगारीसँग जोडिने कार्यक्रमहरूलाई सञ्चालन गर्ने गरी मन्त्रालयले सघन रूपमा काम गरिरहेको श्रममन्त्री यादवको भनाइ छ।
सुकुमवासीको हकमा 'ट्रेनिङ निड एसेस्मेन्ट'को आधारमा छनोट गरी उपयुक्त हुने खालका रोजगारी तथा उद्यमशीलतका कार्यक्रम सञ्चालन गरिनेछ।
आइतबार श्रममन्त्री यादवसहित मन्त्रीहरूको टोली सुकुमवासीका गुनासो सुन्न र समस्या समाधान गर्न भक्तपुरको खरिपाटी र बोडेमा रहेको होल्डिङ सेन्टर पुगेका थिए।