जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ति गाउँपालिकामा ५ अव्यवस्थित बसोबास गरेका परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ। समितिले सार्वजनिक गरेको विवरणअनुसार केही जग्गा आवास प्रयोजनका लागि रहेका छन् भने केही जग्गा कृषि प्रयोजनका छन्।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै लालपुर्जा वितरण थालिएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ। यसअघि सरकारले बर्दियाको बढैयातालका २९ भूमिहीनलाई लालपुर्जा वितरण गरेको थियो।
भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार अन्य जिल्लामा पनि लालपुर्जा वितरणको तयारी भइरहेको छ।