लगातारको अविरल वर्षाका कारण देशकै व्यस्त मुग्लिन–नारायणगढ सडकखण्ड सोमबार पुनः अवरुद्ध भएको छ। चितवनको तुइनखोला क्षेत्रमा माथिबाट निरन्तर ढुंगा झरिरहेको र सेती दोभान क्षेत्रमा लेदोसहितको पहिरो आएपछि सडक दुईतर्फी रूपमा बन्द भएको हो।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार तुइनखोलामा ढुंगा झर्ने क्रम नरोकिएको तथा सेती दोभान क्षेत्रमा माथिबाट ठुलो परिमाणमा लेदो बगेपछि सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ।
सडक खुलाउने उद्देश्यले डोजरसहितका उपकरण घटनास्थलमा पुगिसकेका भए पनि निरन्तरको भारी वर्षा र माथिबाट खसिरहेका ढुंगाका कारण पहिरो पन्छाउने कार्य तत्काल गर्न कठिनाइ भइरहेको कार्यालयले जनाएको छ।
सडक अवरुद्ध भएपछि सयौँ यात्रुवाहक बस, मालवाहक ट्रक, निजी सवारी तथा अत्यावश्यक सेवा बोकेका सवारीसाधन सडकका विभिन्न स्थानमा रोकिएका छन्। सडक डिभिजन कार्यालयले जोखिमलाई मध्यनजर गर्दै रोकिएका सबै सवारीसाधनलाई सुरक्षित स्थानमा राख्न तथा चालक र यात्रुलाई अनावश्यक रूपमा पहिरो प्रभावित क्षेत्रमा नजान आग्रह गरेको छ।
कार्यालयले मौसममा सुधार नआएसम्म सडक खुलाउने कार्य जोखिमपूर्ण हुने भएकाले धैर्य गर्न आग्रह गरेको छ। वर्षा निरन्तर भइरहेकाले थप पहिरो खस्ने सम्भावना रहेको भन्दै सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सबैलाई अनुरोध गरिएको छ।
सडक डिभिजन कार्यालय भरतपुरले मौसम सामान्य भएपछि पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहेको जनाएको छ। यसबिच यात्रु, चालक तथा यातायात व्यवसायीलाई सम्बन्धित निकायबाट जारी हुने सूचना पालना गर्न र सुरक्षित यात्रा अपनाउन आग्रह गरेको छ।