भ्रष्टाचार मुद्दामा गाउँपालिका प्रशासकीय अधिकृत र ठेकदारलाई डेढ/डेढ वर्ष कैद सजाय भएको छ। दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत दीपककुमार आचार्य र आरके कन्ट्रक्सनका प्रोपाइटर सुवास कार्कीलाई सोमबार विशेष अदालतले दोषी ठहर गरी सजाय सुनाएको हो।
आर्थिक वर्ष ०७८/७९ मा कर्णाली नदी र लोहरे खोला क्षेत्रबाट गिट्टी, बालुवा, ढुंगा तथा ग्राबेल उत्खनन, संकलन र बिक्री-वितरणको ठेक्कामा २२ लाख ४४ हजार पाँच सय हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसनधान आयोगले गत ३० चैतमा दायर गरेको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको हो। सो कम्पनीलाई ३० लाख ५० हजारमा ठेक्का दिएकामा कम्पनीले १२ लाख २ हजार मात्र दाखिला गरेको थियो। बाँकी रकम दाखिला गराउन प्रशासकीय अधिकृतले कुनै पहल नगरेको भन्दै भ्रष्टाचार मुद्दा दयर भएको थियो।
दुवैजनालाई डेढ/डेढ वर्ष र कम्पनीसहित गरेर जनही सात लाख ४८ हजार एक सय ६६ रुपैयाँका दरले जरिवाना सुनाएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो।