कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–६, काप्रिखोलामा घट्टमाथिबाट आएको पहिरोले पुरिँदा दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही धाँमीगाउँका अन्दाजी ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावद रहेकाे प्रहरीले जनाएको छ। उनीहरू बिहान काप्रिखोलास्थित पानीघट्टमा अन्न पिस्न गएका थिए। घट्टमा बसिरहेको अवस्थामा माथिबाट आएको पहिरोले पुरिँदा घटनास्थलमै उनीहरूको मृत्यु भएको हो।
जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मेहलमुडी, कालिकोटबाट खटिएको प्रहरी टोलीले पहिरोमा पुरिएका उनीहरूलाई उद्धार गरी निकालेको थियो। उद्धार गर्दा उनीहरूको मृत्यु भइसकेको बताइएको छ।
पहिरोका कारण घट्टको आधा भागसमेत पुरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।