क्रिप्टोकरेन्सी कारोबार र अनलाइन ठगीमा संलग्न चारजना पक्राउ

सोमबार, २९ असार, २०८३
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय चितवनले गैरकानुनी रूपमा क्रिप्टोकरेन्सी कारोबार गर्ने एकजना तथा अनलाइन लगानीको प्रलोभन देखाएर ठगी गर्ने तीनजना गरी चारजनालाई पक्राउ गरेको छ। पक्राउ परेका सबैमाथि जिल्ला अदालत चितवनबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौंका ३६ वर्षीय शिशिर गौतमलाई चितवनको रत्ननगर नगरपालिका– १० स्थित बकुलहर चोकबाट विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

अनुसन्धानका क्रममा गौतमले मोबाइलमार्फत ‘वान एक्स बेट’बाट अनलाइन सट्टेबाजी गर्ने तथा ‘बाइनान्स’ एप प्रयोग गरी क्रिप्टोकरेन्सी कारोबार र सञ्चय गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। उनको साथबाट दुई थान एन्ड्रोइड मोबाइल, विभिन्न बैंकका ६ थान एटिएम कार्ड तथा नगद चार हजार रुपैयाँ बरामद गरिएको छ।

यस्तै, अर्को घटनामा अनलाइन व्यवसायमा लगानी गराउने भन्दै ठगी गर्ने गिरोहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पीडितको जाहेरीपछि जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)सँगको समन्वयमा इलाका प्रहरी कार्यालय टाँडीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार अभियुक्तहरूले टेलिग्राममार्फत पीडितलाई विभिन्न योजनामा लगानी गर्न प्रलोभनमा पारी पटक–पटक विभिन्न बैंक खातामा रकम जम्मा गराउन लगाएका थिए। यसरी उनीहरूले कुल १२ लाख ९७ हजार १५१ रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

यस प्रकरणमा पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका– ४ का २६ वर्षीय रोशन मुसलमान, सोही स्थानका २४ वर्षीय रुस्तम अन्सारी तथा पाल्हीनन्दन गाउँपालिका– ३ का २७ वर्षीय आजाम अली अन्सारी रहेका छन्।

प्रहरीले पक्राउ परेका चारैजनाविरुद्ध सम्बन्धित कसुरमा अनुसन्धान जारी रहेको जनाएको छ।

See More On

सुझावित समाचार