त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीका परिवारलाई क्षतिपूर्ति रकमको सुनिश्चितताविना नै सरकारले नौबुँदे सहमति गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, काठमाडौं महानगरपालिका र पीडित परिवारबिच भएको सहमतिमा मृतकका परिवारलाई उचित क्षतिपूर्तिबापत यथोचित रकम दिने उल्लेख छ । सहमतिसँगै पीडित परिवार शवको दाहसंस्कार गर्न तयार भएको छ ।
सहमतिपत्रको बुँदा नं. ५ मा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गराई मृतकको आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराइनेछ ।’मृतक गणेशका दाइ मदन नेपालीले सरकारसँग नौबुँदे सहमति भएको, तर क्षतिपूर्तिबापत प्राप्त हुने रकमको परिमाणबारे भने थाहा नभएको बताए । ‘भाइको मृत्यु भइहाल्यो, रोएर केही हुने होइन । त्यसैले सरकारसँग सहमति गर्यौँ । अब शव बुझेर सद्गत गर्छौँ,’ उनले भने, ‘क्षतिपूर्तिबापत रकम दिने भनेका छन्, तर कति दिने हो भनेका छैनन् । हामीले न्याय पाउनुपर्यो भनेर वार्तामा आवाज उठाएका हौँ ।’
सहमतिअनुसार मृतक गणेशकी श्रीमतीलाई काठमाडौं महानगरपालिकाले योग्यताअनुसारको रोजगारी दिनेछ । उनकी छोरीको उच्च शिक्षाका लागि आवश्यक सम्पूर्ण खर्च पनि काठमाडौं महानगरपालिकाले नै व्यहोर्नेछ । समन्वयको काम भने नेपाल सरकारले गर्नेछ ।
सहमतिपत्रमा उल्लेख छ, ‘काठमाडौं महानगरपालिकाको आगामी बस्ने कार्यपालिका बैठकको निर्णयअनुसार मृतककी श्रीमतीलाई निजको योग्यता तथा क्षमताका आधारमा रोजगारी सुनिश्चित गरिनेछ । साथै, मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौं महानगरपालिकाबाट सम्पूर्ण खर्चसमेतको आवश्यक प्रबन्ध मिलाइनेछ । यस कार्यका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वय गर्नेछन् ।’
त्यसबाहेक सद्गत गर्दा लाग्ने खर्च र व्यवस्थापनसँग सम्बन्धित कार्य पनि महानगरपालिकाले नै गर्नेछ । मृतकका परिवार काठमाडौंसम्म आउँदा र जाँदा लाग्ने खर्च, काजक्रिया अवधिभर काठमाडौंमा लाग्ने खर्च र प्रबन्धसमेत महानगरपालिकाले गर्नेछ । मृतक परिवारका सदस्यको स्वास्थ्य बिमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्नेछ ।
सहमतिपत्रमा भनिएको छ, ‘मृतकका एकाघरका परिवारजनको आतेजाते (यातायात) खर्च एवं काठमाडौंमा काजक्रिया अवधिभर रहँदा–बस्दा हुने सम्पूर्ण खर्चको प्रबन्ध काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ । पीडित परिवारका एकाघरका परिवारको स्वास्थ्य बिमाको कार्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाइनेछ ।’
त्यस्तै, सहमतिअनुसार सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा घटनाको छानबिन गर्न समिति गठन गर्नेछ ।समितिलाई गठनादेश भएको सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ । मृतक गणेशलाई सहिद घोषण गर्ने वा नगर्ने विषय भने छानबिनपछि तयार हुने प्रतिवेदनका आधारमा तय हुनेछ ।
सहमतिपत्रमा भनिएको छ, ‘घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानबिन समिति गठन गर्नेछ । उक्त समिति गठन भएको मितिले सात दिनभित्र प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्नेछ । नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, विगतको अभ्यास तथा गठन हुने छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउनेछ ।’
प्रतिवेदन पेस नभएसम्मको अवधिभर घटनाका दिन अग्रभागमा खटिने महानगरपालिकाका नगर प्रहरीलाई निलम्बनमा राख्ने सहमति पनि भएको छ । ‘घटना घटेको दिन उक्त घटनास्थलमा फिल्डमा अग्रभागमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई पछि छानबिन आयोगको प्रतिवेदन/सिफारिसबमोजिम गर्ने गरी हाललाई निलम्बन गर्न काठमाडौं महानगरपालिकालाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट लेखी पठाइनेछ,’ सहमतिपत्रमा उल्लेख छ ।
गणेशका दाइ मदन नेपालीले भने– भाइको मृत्यु भइहाल्यो, रोएर केही हुने होइन । त्यसैले सरकारसँग सहमति गर्यौँ । अब शव बुझेर सद्गत गर्छौँ । क्षतिपूर्तिबापत रकम दिने भनेका छन्, तर कति दिने हो भनेका छैनन् । हामीले न्याय पाउनुपर्यो भनेर वार्तामा आवाज उठाएका हौँ ।
सहमतिपत्रमा पीडित पक्षबाट मृतककी श्रीमती एकमाया नेपाली, बुबा चिने नेपाली, आमा सौरी नेपाली, दाइ मदन नेपालीलगायत १३ जनाले हस्ताक्षर गरेका छन् भने सरकार पक्षबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन् ।
मुगु सोरु गापा–१, जलधाराका २५ वर्षीय नेपालीले २६ असारमा त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । उनको मोटरसाइकलमा नगर प्रहरीले ह्विल लक गरेपछि उनले आत्मदाह गरेका थिए । वीर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।
सुरक्षा थ्रेट भएको भन्दै नगर प्रहरी खटिएन फिल्डमा
काठमाडौं महानगरपालिकाले सुरक्षाको ग्यारेन्टी नभएसम्म मातहतका नगर प्रहरीलाई फिल्डमा नखटाउने भएको छ । सुरक्षा थ्रेट हुने भएपछि उनीहरूलाई फिल्डमा नखटाउने मनस्थितिमा महानगरपालिका पुगेको हो । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार गणेश नेपालीको आत्मदाह घटनापछि नगर प्रहरीलाई सुरक्षा थ्रेट भएकाले अर्को सहमति नभएसम्मका लागि फिल्डमा नखटाइने बताए ।
सहमतिका मुख्य बुँदा
- मृतक गणेशकी श्रीमतीलाई काठमाडौं महानगरपालिकाले योग्यताअनुसारको रोजगारी दिने । मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौं महानगरपालिकाबाट सम्पूर्ण खर्चसमेतको आवश्यक प्रबन्ध मिलाइने
- सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा घटनाको छानबिन गर्न समिति गठन गर्ने, गठन भएको मितिले सात दिनभित्र प्रतिवेदन पेस गर्ने
- गणेशलाई सहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, विगतको अभ्यास तथा गठन हुने छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउने