सरकारले अनावश्यक हैरानी दिएको भन्दै सुकुमवासीहरूले आइतबार पनि प्रदर्शन गरेका छन् । कीर्तिपुर, इचंगुनारायण, बनेपा रेडक्रमलगायत होल्डिङ सेन्टरमा बस्दै आएका भूमिहीन सुकुमवासीहरू सरकारले आफूहरूमाथि दमन गरेको भन्दै विरोधमा उत्रिएका हुन् ।
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले नेतृत्व गरेको प्रदर्शनमा होल्डिङ सेन्टरबाहिर रहेका सुकुमवासीहरू पनि उत्रिए । हातमा प्लेकार्ड बोकेका उनीहरूले यथाशीघ्र स्थायी बसोबासको व्यवस्था गर्नुपर्ने र हाल बसिरहेको ठाउँमा दमन नगर्न माग गरे । लालपुर्जा वितरण गर्नुपर्ने र त्यति वेलासम्म सरकारले भूमिहीनलाई होल्डिङ सेन्टरमा व्यवस्थित रूपमा राख्नुपर्ने माग उनीहरूको थियो । शनिबार कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका अभियन्तालाई सरकारले गरेको पक्राउको विरोध पनि गरे ।
अन्यायको अन्त्य गर, मानव अधिकारको सम्मान गर, सरकारको दमन बन्द गर, यथाशीघ्र लालपुर्जा वितरण गर, जनताको आवाज दबाउन पाइँदैन, गैरन्यायिक पक्राउ बन्द गरजस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । शनिबार कीर्तिपुरस्थित राधास्वामी सत्संग आश्रम डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेकाहरूलाई भक्तपुरको खरिपाटी र बोडेमा सारिएको थियो ।
तर, सरकारले अनावश्यक दुःख दिएको भन्दै केही परिवार डेरामा सरेका छन् । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार खरिपाटीमा ३८ र बोडेमा १८ परिवारलाई राखिएको छ । सात परिवार डेरा खोजेर सरेका छन् ।
६ मन्त्री होल्डिङ सेन्टर पुगेर आश्वासन दिए, तर लालपुर्जा वितरणको टुंगो दिएनन्
कीर्तिपुरबाट लगेर भक्तपुरको खरिपाटी र बोडेमा राखिएका सुकुमवासीको अवस्था बुझ्न आइतबार एकैपटक ६ मन्त्री पुगेका थिए । गृहमन्त्री सुधन गुरुङ, भूमि व्यवस्थामन्त्री प्रतिभा रावल, महिला, बालबालिकामन्त्री सीता बादी, स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोख्रेल र श्रममन्त्री रामजी यादव होल्डिङ सेन्टर पुगेका थिए ।
उनीहरूले सुकुमवासीको दिगो व्यवस्थापन गर्ने र चाँडै लालपुर्जा बाँडिने आश्वासन दिएका थिए । भूमि व्यवस्थामन्त्री रावलले सुकुमवासी व्यवस्थापनको गृहकार्य गरेको बताउँदै छिट्टै लालपुर्जा वितरण हुने बताइन् । तर, कति समयमा वितरण गर्ने भन्नेबारे मन्त्री रावलले ठोस निर्णय भने दिइनन् ।
‘सरकारले सुकुमवासी मात्र पहिचान गरेर भएन, जग्गा पनि पहिचान गर्नुपर्ने हुन्छ, यसले गर्दा सबै प्रक्रिया पूरा गर्न केही समय त लागिहाल्छ । तर, सरकारले ढिलोचाँडो समस्या समाधान गर्छ, छिट्टै लालपुर्जा वितरण हुन्छ,’ उनले सुकुमवासीलाई आश्वासन दिँदै भनिन्, ‘अहिले होल्डिङ सेन्टरमा रहनुभएकाहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।’ सुकुमवासीलाई साक्षी राख्दै गृहमन्त्री गुरुङले पनि सुकुमवासी परिवारको अवस्थामा सरकार गम्भीर भएको बताउँदै छिट्टै स्थायी व्यवस्थापन गरिने बताए । ‘तपाईंहरूको समस्यालाई हाम्रो समस्याका रूपमा लिएका छौँ, यसलाई हामीले गम्भीर रूपमा लिएका पनि छौँ,’ उनले भने, ‘बच्चाहरूको अवस्था के छ, विवरण दिएर सहयोग गर्नुप¥यो, उनीहरूलाई पढाइदिने, अन्य कुरामा हामी एकदमै गम्भीर छौँ ।’
भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले सुकुमवासीलाई आश्वासन दिँदै भनिन्, ‘अहिले होल्डिङ सेन्टरमा रहनुभएकाहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । छिट्टै लालपुर्जा वितरण हुन्छ ।’