तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा)– २०२६ अन्तर्गत विभिन्न २१ प्रतिस्पर्धात्मक विधाका उत्कृष्ट पाँच (टप– ५) मनोनयन सार्वजनिक गरिएको छ।
इन्फा इभेन्ट्स युके र इन्फा नेपालको संयुक्त आयोजनामा शनिबार काठमाडौंस्थित होटेल याक एन्ड यतीमा आयोजित कार्यक्रममा मनोनयन घोषणा गर्नुका साथै मनोनयनमा परेका कलाकार तथा चलचित्रकर्मीलाई प्रमाणपत्र पनि वितरण गरिएको हो।
आयोजकका अनुसार, ०८२ वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० भन्दा बढी नेपाली चलचित्रमध्ये अनुभवी तथा स्वतन्त्र निर्णायकमण्डलले निष्पक्ष मूल्यांकनका आधारमा उत्कृष्ट पाँच मनोनयन छनोट गरेको हो। निर्णायकमण्डलमा वरिष्ठ अभिनेता हरिहर शर्मा, वरिष्ठ अभिनेत्री गौरी मल्ल, वरिष्ठ निर्देशक तथा कलाकार रमेश बुढाथोकी र वरिष्ठ सम्पादक एवं गीतकार करुण थापा रहेका थिए।
यसैबिच, नेपाली चलचित्र क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको सम्मानस्वरूप वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई एक लाख ११ हजार १११ रुपैयाँ राशिको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने घोषणा गरिएको छ। उक्त नगद पुरस्कार एचटिआर केयर एन्ड रिक्रुटमेन्टको प्रायोजनमा प्रदान गरिने आयोजकले जनाएको छ।
इन्फा अवार्डका पहिलो र दोस्रो संस्करण क्रमशः सन् २०२४ र २०२५ मा बेलायतको लन्डनमा सम्पन्न भएका थिए भने तेस्रो संस्करण पहिलोपटक नेपालमा आयोजना हुन लागेको हो। आगामी साउन ३० गते काठमाडौंस्थित होटेल याक एन्ड यतीमा हुने अवार्ड समारोहमा नेपाली चलचित्र क्षेत्रका अग्रणी व्यक्तित्व, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, कूटनीतिक नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा विशिष्ट अतिथिहरूको सहभागिता रहने जनाइएको छ। समारोहको प्रत्यक्ष प्रसारण प्राइम टेलिभिजनबाट गरिनेछ।