सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय मानव स्रोत विभागका विभागीय प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनीकुमार पोखरेलले अन्तर्राष्ट्रिय सीमा सुरक्षा, तस्करी नियन्त्रण र राजस्व चुहावट रोक्न सरकारको जिरो टोलरेन्स (शून्य सहनशीलता) नीतिलाई पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
लुम्बिनी प्रदेशका सीमानाकाहरूको स्थलगत अनुगमनका क्रममा आइतबार कपिलवस्तुका मुख्य सीमानाकाहरू कृष्णनगर, खुनुवा तथा चाकरचौडा भन्सार एरिया पुगेका एआइजी पोखरेलले सीमा इलाकामा तैनाथ सशस्त्र प्रहरी कर्मचारीहरूलाई उच्च व्यावसायिकता प्रदर्शन गर्दै त्रुटिरहित ढंगले कार्य सम्पादन गर्न सचेत गराए।
अनुगमनका क्रममा एआइजी पोखरेलले सीमा क्षेत्रका स्थानीय नागरिकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरी उनीहरूको राय र सुझावसमेत लिएको बताए। अन्तर्राष्ट्रिय सीमा सुरक्षा र तस्करी नियन्त्रणजस्ता जनताका प्रत्यक्ष चासोका विषयमा छलफल गर्दै पोखरेलले स्थानीय बासिन्दा र सशस्त्र प्रहरी बलबिचको बलियो सहकार्यले मात्र सीमा क्षेत्रको शान्ति, सुरक्षा र राजस्व संकलनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
सीमा इलाकामा खटिएका हरेक सशस्त्र प्रहरी कर्मचारीले २४सै घण्टा उच्च सतर्कताका साथ अवैध गतिविधि रोक्न अहोरात्र खटिन आवश्यक रहेको बताउँदै उनले वर्षायाम सुरु भइसकेकाले सम्भावित विपतकाे घडीमा नागरिकको जीउधनको रक्षा गर्न जतिवेला पनि तयारी अवस्थामा रहनुपर्नेमा जोड दिए।
मनसुन सुरु भएसँगै हुन सक्ने सम्भावित बाढी, डुबान तथा अन्य प्राकृतिक विपतलाई मध्यनजर गर्दै एआइजी पोखरेल विपतकाे समयमा खबर पाएको ६ मिनेटभित्र आवश्यक उद्धार तथा व्यक्तिगत सुरक्षा सामग्रीसहित कार्यक्षेत्रमा परिचालित भई जनताको सेवामा जुट्न सक्ने गरी २४सै घण्टा स्ट्यान्डबाई रहन मातहतका निकायलाई निर्देशन दिए।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सीमा इलाकामा कार्यसम्पादनलाई अझ उत्कृष्ट र पारदर्शी बनाउन देशव्यापी रूपमा विभिन्न अनुगमन टोलीहरू परिचालन गरिरहेको र सोही क्रममा कपिलवस्तुस्थित २८ नम्बर गण हेडक्वार्टरलगायत अन्य मातहतका युनिटहरूको निरीक्षण गरिएको बताएको छ।