नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासी नागरिकको सुरक्षित तथा व्यवस्थित व्यवस्थापनबारे सरकारसँग जवाफ मागेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीले यसअघि ज्यान जोखिममा रहेका नागरिकलाई सुरक्षित र व्यवस्थित स्थानान्तरण गर्ने सार्वजनिक प्रतिबद्धता जनाएको स्मरण गराउँदै उक्त वाचा कार्यान्वयनको अवस्थाबारे प्रश्न उठाएका हुन्।
आङ्देम्बेले मानवीय संवेदनालाई बेवास्ता गर्दै सुकुमवासी नागरिकलाई बलपूर्वक हटाइएको आरोप लगाउँदै प्रधानमन्त्रीसँग त्यो प्रतिबद्धता कहाँ हरायो ? के यही हो तपाईंले वाचा गर्नुभएको सुरक्षित र व्यवस्थित व्यवस्थापन ? भन्ने प्रश्न गरेका छन्।
उनले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका विस्थापित नागरिकको अवस्था डुबानपछि थप दयनीय बनेको उल्लेख गर्दै सरकारले उनीहरूलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा पुर्याएको टिप्पणी गरेका छन्। सुरक्षित आश्रयको आश्वासन पाएका नागरिक अहिले पनि भोक, पानी, हिलो, अभाव र असुरक्षाबिच जीवन बिताउन बाध्य भएको उनको भनाइ छ।
आङ्देम्बेले होल्डिङ सेन्टरमा पुगेर पीडितहरूको अवस्था बुझ्न तथा सरकारसँग जवाफ माग्न खोज्ने युवाहरू, माजिद अन्सारीसहित लाई बलपूर्वक नियन्त्रणमा लिइएको घटनाप्रति पनि आपत्ति जनाएका छन्। उनले लोकतान्त्रिक व्यवस्थामा प्रश्न सोध्नुलाई अपराधका रूपमा लिनु अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथिको आक्रमण भएको बताएका छन्।
उनले सरकारले आफ्ना सार्वजनिक प्रतिबद्धता पूरा गर्न नसके आत्मसमीक्षा गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीलाई सुकुमवासी नागरिकसँग गरिएको वाचाबारे स्पष्ट जवाफ दिन आग्रह गरेका छन्। ‘प्रश्न सोध्नेलाई थुनेर होइन, जवाफ बन्नुहोस्,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।