तीन जीर्ण संस्थानको ‘डिडिए’ तयार

आइतबार, २८ असार, २०८३
डिजिटल संस्करण
  • अर्थ मन्त्रालय पुग्यो हेटौँडा सिमेन्ट, उदयपुर सिमेन्ट र गोरखकाली रबर उद्योगको मूल्यांकन प्रतिवेदन 

अर्थ मन्त्रालयको अगुवाइमा हेटौँडा सिमेन्ट, उदयपुर सिमेन्ट र गोरखकाली रबर उद्योगको सम्पत्ति तथा दायित्वको विस्तृत मूल्यांकन (डिडिए) कार्य सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय दातृ निकाय एसियाली विकास बैंक (एडिबी)को प्राविधिक सहायतामा यी तीन सरकारी उद्योगहरूको डिडिएसँगै अब यिनको व्यवस्थापनको निर्णय लिने बाटो खुल्ने भएको छ । यसैगरी, नेपाल ओरिएन्ड म्याग्नेसाइट प्रालि र बुटवल धागो कारखाना लिमिटेडको मूल्यांकन कार्यसमेत जारी रहेको अर्थले जनाएको छ । 

डिडिए प्रतिवेदन सरकारी लगानी व्यवस्थापन समितिमा पेस भएपछि सरकारले त्यसको आवश्यक निर्णय लिने मन्त्रालयले जानकारी दिएको छ । अर्थ मन्त्रालयका सहप्रवक्ता किशोर ढकालले सातवटा उद्योगहरूको सम्पत्ति तथा दायित्वको मूल्यांकन तीव्र पारेको बताए ।

अघिल्लो सरकारले १५ वैशाख ०८२ को मन्त्रिपरिषद् बैठकबाट सात संस्थान खारेज गर्ने मनसायका साथ बन्द गराएको थियो । तीमध्ये तीनवटाको डिडिए सम्पन्न भइसकेको र दुईको जारी रहेको हो । जनकपुर चुरोट र मेटल कम्पनीको डिडिएका लागि पनि भर्खरै परामर्शदाता नियुक्ति भएको अर्थले जनाएको छ । 

जनकपुर चुरोटको एस सुवेदी एन्ड एसोसिएट्ससँग मूल्य अभिवृद्धि करसहित १६ लाख १८ हजार एक सय ६० रुपैयाँमा सम्झौता भएर काम अघि बढेको छ ।

यस्तो छ उद्योगको अवस्था
उदयपुर सिमेन्ट उद्योग लिमिटेड आव ०८१/८२ मा २८ करोड ९५ हजार रुपैयाँ खुद नोक्सानमा छ । यसको कुल सञ्चित घाटा ६ अर्ब ४१ करोड ७५ लाख रुपैयाँ पुगिसकेको छ । त्यस्तै, हेटौँडा सिमेन्ट उद्योग आव ०८१/८२ मा ३१ करोड २४ लाख रुपैयाँ खुद नोक्सानमा छ । सञ्चित घाटा एक अर्ब ७६ करोड ६६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, गोरखकाली रबर उद्योगको सञ्चित नोक्सानी चार अर्ब ४० करोड ५२ लाख रुपैयाँ कायम छ । आव ०८१/८२ मा खुद नोक्सानी नौ करोड ५७ लाख छ ।

लामो समयदेखि बन्द रहेको र हालै १६ लाखभन्दा बढी खर्चेर डिडिए गर्न लागिएको जनकपुर चुरोट कारखाना लिमिटेडको अवस्था झनै दयनीय छ । यसले उद्योगका अन्य स्रोतबाट ५२ लाख ४२ हजार रुपैयाँ आम्दानी गर्दा ३१ लाख ८० हजार रुपैयाँ प्रशासनिक खर्च गरेर कागजी रूपमा १२ लाख ८५ हजार रुपैयाँ खुद नाफा देखाए पनि यसको सञ्चित नोक्सान दुई अर्ब ९० करोड ४२ लाख रुपैयाँ पुगेको छ ।

पूर्ण रूपमा बन्द रहेको र डिडिए भइरहेको बुटवल धागो कारखाना लिमिटेडको सञ्चालन आय जम्मा ९३ हजार मात्र हुँदा त्यहाँका कर्मचारी र प्रशासनका नाममा ४५ लाख २८ हजार खर्च भएको छ । उद्योगलाई तीन करोड ५७ लाख ५१ हजार खुद नोक्सान भई कुल सञ्चित घाटा एक अर्ब ८९ करोड ५२ लाख पुगेको छ । 

See More On

सुझावित समाचार