लुम्बिनी प्रदेशमा १६औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गरिएको छ। लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा शनिबार आयोजित कार्यक्रममा स्वर्ण, रजत र कांस्य पदक विजेता खेलाडी, प्रशिक्षक तथा म्यानेजर गरी एक सय पाँचजनालाई सम्मान गरिएको हो । प्रतियोगितामा लुम्बिनी प्रदेश समग्रमा तेस्रो स्थान हासिल गर्न सफल भएको थियो।
कार्यक्रममा स्वर्ण पदक विजेता प्रत्येक खेलाडीलाई ११ हजार रुपैयाँ, रजत पदक विजेतालाई ९ हजार रुपैयाँ र कांस्य पदक विजेतालाई ६ हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिएको थियो। सम्मानित सबैलाई खादा, अविर र सम्मान-पत्रसमेत प्रदान गरिएको परिषद्ले जनाएको छ ।
गत जेठ २० गतेदेखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १६ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशका खेलाडीले १२ स्वर्ण, १५ रजत र १८ कांस्य पदक जित्दै समग्रमा तेस्रो स्थान हासिल गरेका थिए। प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, कराते, तेक्वान्दो, उसुलगायत विभिन्न विधामा लुम्बिनीका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।