उदयपुर प्रहरीले ६६० मिलिग्राम ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिराहाको लहान नगरपालिका–२२ निवासी २४ वर्षीय सन्दीप चौधरी रहेका छन्। उनलाई असार २६ गते दिउँसो करिब २ बजे त्रियुगा नगरपालिका–६ स्थित लालपत्ता चेकपोस्टमा नियमित सवारी जाँचका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रहरीका अनुसार लहानबाट गाईघाटतर्फ आउँदै गरेको मोटरसाइकललाई शंकाको आधारमा रोकी खानतलासी गर्दा चालक चौधरीले लुकाएर ल्याउँदै गरेको ६६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको हो। त्यसपछि लागुऔषध र मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद पदार्थ परीक्षणका लागि पठाइएको छ भने चौधरीमाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
उदयपुर प्रहरीले पछिल्लो समय पूर्व–पश्चिम राजमार्ग तथा जिल्लाका प्रवेश नाकामा लागुऔषध नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। सोही अभियानअन्तर्गत लालपत्ता चेकपोस्टमा हुने नियमित निगरानी र चेकजाँचका क्रममा यो सफलता हासिल भएको प्रहरीले जनाएको छ।
प्रहरीले लागुऔषधको ओसारपसार, कारोबार वा सेवनसम्बन्धी कुनै पनि सूचना भए तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।