सार्वजनिक यातायातका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री बानियाँ

शनिबार, २७ असार, २०८३
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका बहुआयामिक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । ट्राफिक व्यवस्थापन, सवारी दुर्घटनामा मृत्यु हुनेका परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेको उपचारलाई व्यवस्थित बनाउन आवश्यक कानुनी तथा नीतिगत पहल गरिने उनले बताएका हुन् ।

शनिवार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष सरोज सिटौलाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री बानियाँले सार्वजनिक यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि व्यवसायी, सुरक्षा निकाय र सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

महासंघका अध्यक्ष सिटौलाले विशेषगरी काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक जाम, सवारी दुर्घटनापछि मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया, घाइतेको उपचारमा हुने आर्थिक भार तथा विद्यमान कानुनी जटिलताका कारण यातायात व्यवसायी गम्भीर समस्यामा परेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनले दुर्घटनामा घाइते भएका व्यक्तिको उपचार प्रायः महँगा निजी अस्पतालमा गर्नुपर्ने बाध्यता रहेको र बीमा कम्पनीबाट अधिकतम तीन लाख रुपैयाँसम्म मात्रै उपचार खर्च उपलब्ध हुने व्यवस्था पर्याप्त नभएकाले व्यवसायीमाथि थप आर्थिक भार पर्ने गरेको बताए । उपचार खर्च बीमा रकमभन्दा धेरै हुने अवस्थामा बाँकी रकम व्यवसायीले नै व्यहोर्नुपर्ने अवस्थाले यातायात क्षेत्र थप संकटमा परेको उनको भनाइ थियो ।

जवाफमा मुख्यमन्त्री बानियाँले दुर्घटनापछि घाइतेको उपचारलाई व्यवस्थित बनाउन प्रदेश सरकार मातहतका सरकारी अस्पतालमा ट्रमा सेन्टरको क्षमता विस्तार गर्ने र प्रारम्भिक उपचार सरकारी अस्पतालमै हुने व्यवस्था गर्न आवश्यक कानुनी पहल गरिने बताए ।

उनले सरकारी अस्पतालमा प्रभावकारी ट्रमा सेवा सञ्चालन हुन सके घाइतेले समयमै उपचार पाउने, निजी अस्पतालमा निर्भरता घट्ने र व्यवसायीमाथिको आर्थिक भार पनि कम हुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री बानियाँले बागमती प्रदेश मुलुकको संघीय राजधानी रहेको र देशका ६० प्रतिशतभन्दा बढी सवारी साधनको चाप यही प्रदेशमा केन्द्रित भएकाले सार्वजनिक यातायात व्यवस्थापन चुनौतीपूर्ण रहेको स्वीकार गरे। तथापि, समस्या जटिल भए पनि प्रदेश सरकारले सम्बन्धित निकायसँग सहकार्य गरेर दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता जनाए ।

उनले ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरण, घाइते उपचार, क्षतिपूर्ति व्यवस्थापन तथा सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र सेवामुखी बनाउन प्रदेश सरकारले आवश्यक नीतिगत सुधार र समन्वयात्मक भूमिका निर्वाह गर्ने बताए ।

सुझावित समाचार