सेयर बजार परिसूचक नेप्से निरन्तर ओरालो लागेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कार्ययोजना ल्याएर समस्याको सम्बोधन गर्ने भएको छ । बोर्डले बजारमा हाल देखापरेका समस्या र लगानीकर्ताको गुनासो सम्बोधन गर्न पुँजीबजार विकास मार्गचित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बजारमा देखिएका समस्याको समाधान र लगानीकर्ताको हकहित संरक्षणका लागि बोर्डले यस्तो तयारी गरेको जानकारी दिएको छ । बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको सक्रियतामा उक्त मार्गचित्र आउन लागेको हो । भट्टले पुँजीबजारका सरोकारवालासँगको भेट तथा छलफल बढाएका छन् । छलफल तथा अध्ययनपछि समयबद्ध कार्ययोजनासहित विस्तृत रूपमा पुँजीबजार विकास मार्गचित्र सार्वजनिक गरी तत्कालै कार्यान्वयनमा लगिने बोर्डले जानकारी दिएको छ ।
धितोपत्र व्यवसायीलगायत सम्बद्ध संस्थाहरूलाई बोर्डबाट मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयनका लागि बोर्डले ताकेता गरेको छ । बजारसम्बन्धी विषयहरूका सम्बन्धमा दिइएका निर्देशनअनुरूपका कामकारबाही तोकिएको समयमा सम्पादन गराउन बोर्डले ध्यानाकर्षण गरेको छ । बजारलाई थप स्वस्थ, सुरक्षित एवं प्रभावकारी पुँजीबजारको वातावरण बनाउँदै धितोपत्रको सार्वजनिक निष्कासन प्रक्रिया र नियमन व्यवस्थालाई अझ व्यवस्थित गर्न विद्यमान धितोपत्रसम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्कासन नियमावलीलगायतका अन्य नियमावलीहरू तथा सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासनसम्बन्धी निर्देशिकालगायत अन्य कानुनी व्यवस्थाहरूमा समसामयिक पुनरवलोकन गर्ने बताइएको छ ।
बोर्डले विज्ञप्तिमार्फत भनेको छ, ‘लगानीकर्ताको हित संरक्षणलाई उच्च महत्व दिई बोर्डले कार्य अगाडि बढाइरहेकाले कसैको पनि हल्ला, बहकाउ तथा अफवाहमा नपरी आफ्नो अध्ययन, विश्लेषणमा आधारित रही जोखिम वहन क्षमतासमेतलाई ध्यान दिई सुझबुझपूर्वक लगानीसम्बन्धी निर्णय लिन अनुरोध गरिन्छ ।’
विगतका सुझाव प्रतिवेदन भने अलपत्र
गत ३ असोज ०८२ मा तत्कालीन अर्थमन्त्री रामेश्वप्रसाद खनालले पुँजीबजार सुधार सुझाव कार्यदल गठन गरेका थिए । कार्यदलले ८ असोजमा सुझावसहितको प्रतिवेदन बुझाएको थियो । कार्यादलले ब्रोकरमार्फत मार्जिन कारोबार प्रणाली कार्यान्वयन गर्ने सुझाव दिएकोमा कार्यान्वयनमा ल्याइसकेको छ ।
संगठित संस्थाले लगानीकर्तालाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै मिलान गरी भुक्तानी गर्नुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको थियो । तर, हालसम्म यो कार्यान्वयनमा आएको छैन ।
धितोपत्र दलाल व्यवसायीले लगानीकर्ताले समयमै खरिद आदेशबमोजिमको रकम भुक्तानी गर्न नसकेमा वा धितोपत्र दलाल व्यवसायीले समयमा लगानीकर्तालाई भुक्तानी गर्न नसकेमा उक्त रकमबाट सिर्जित दायित्व वा प्रतिफल भुक्तानीसम्बन्धी व्यवस्थामा एकरूपता कायम गर्ने पनि उल्लेख थियो । लगानीकर्ताले दुई वा सोभन्दा बढी हितग्राही खाता खोल्न सक्ने व्यवस्था गर्न पनि सुझाव दिइएको थियो ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सूचीकृत कम्पनीहरूको वित्तीय सबलता, तरलता तथा संस्थागत सुशासनको अवस्थाका आधारमा गर्ने वर्गीकरण वस्तुनिष्ठ बनाउने तथा उक्त वर्गीकरणपछि जेड समूहमा पर्ने कम्पनीहरूको कारोबार गर्दा शतप्रतिशत नगद मार्जिन लिनुपर्ने व्यवस्था गर्ने सुझावमा उल्लेख थियो ।
लगानीकर्ताको समस्या तथा गुनासो तत्काल सम्बोधनका लागि आवश्यक गुनासो व्यवस्थापन संयन्त्रको स्थापना गरी सञ्चालनमा ल्याउने र धितोपत्रसम्बन्धी कसुरको जाँचबुझ समयमा प्रभावकारी ढंगले सम्पन्न गर्न संयन्त्रको स्थापना गर्ने भनिएको थियो । त्यस्तै लगानीकर्तामा पुँजीबजारसम्बन्धी साक्षरताका लागि विभिन्न प्रशिक्षण तथा कार्यशाला सञ्चालन गर्ने सुझाव पनि दिइएको थियो । तर, कार्यादलका अधिकांश सुझाव कार्यान्वयनमा आएका छैनन् ।