मनसुनजन्य विपतका लागि बागमतीको पूर्वतयारी : सुरक्षा निकायलाई साढे दुई करोडभन्दा बढीको सामग्री हस्तान्तरण

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण

मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम बढ्न थालेपछि बागमती प्रदेश सरकारले विपत् व्यवस्थापनलाई उच्च प्राथमिकतामा दिँदै सुरक्षा निकायसँगको समन्वय र पूर्वतयारीलाई तीव्र बनाएको छ । 

विगतका विपतबाट प्राप्त अनुभवलाई आधार बनाएर सम्भावित जोखिमको पूर्वानुमान, राहत सामग्रीको व्यवस्थापन, सूचना प्रणाली सुदृढीकरण र उद्धार संयन्त्रलाई थप प्रभावकारी बनाउने तयारी प्रदेश सरकारले अघि बढाएको हो ।

जसअन्तर्गत बागमती प्रदेश सरकारले सुरक्षाका तीनवटै निकायलाई विपत् पूर्वतयारीका लागि आवश्यक पर्ने सामग्री हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साढे दुई करोडभन्दा बढीको सामग्री हस्तान्तरण गरेका छन् । 

बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा प्रदेशले नेपाली सेनाको लागि ७५ लाख ६२ हजार २९९, नेपाल प्रहरीका लागि ५४ लाख ६६ हजार ४८८ र सशस्त्र प्रहरी बल नेपाललाई एक करोड १६ लाख ८३ हजार ५२२ रुपैयाँबराबरको विपत् प्रतिकार्यका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो । जसमा अत्याधुनिक ड्रोनदेखि वाटर रेस्क्यु इक्युपमेन्टलगायतका सामग्रीहरू रहेका छन् ।

उक्त अवसरमा बोल्दै मुख्यमन्त्री बानियाँले मनसुनका कारण बढी प्रभावित हुन सक्ने क्षेत्रको पहिचान गरेर समयमै पूर्वतयारी गर्न सके जनधनको क्षति उल्लेखनीय रूपमा घटाउन सकिने बताए । उनले विगतका विपतका अनुभव नै अहिलेको सबैभन्दा ठुलो सिकाइ भएको उल्लेख गर्दै अब प्रतिक्रिया होइन, पूर्वतयारीको मोडेलमा जानुपर्ने आवश्यकता औँल्याए । ‘विगतको भोगाइ नै अहिलेको सिकाइ हो । बागमती प्रदेशका कुन–कुन क्षेत्रमा वर्षा र मनसुनका कारण बढी क्षति हुन सक्छ भन्ने पहिचान गरेर अहिले नै तयारी गर्नुपर्छ,’ उनले भने ।

मुख्यमन्त्री बानियाँका अनुसार प्रदेश सरकारले सम्भावित पहिरो, बाढी र डुबान प्रभावित क्षेत्रहरूको अध्ययन गरिरहेको छ । जोखिम बढी भएका स्थान पहिचान गरी त्यहाँ आवश्यक स्रोत–साधन, जनशक्ति र उद्धार सामग्री अग्रिम रूपमा व्यवस्थापन गर्ने रणनीति अपनाइएको छ । उनले विपत् व्यवस्थापनमा सबैभन्दा महत्त्वपूर्ण पक्ष पूर्वतयारी भएको उल्लेख गर्दै विपत् आइसकेपछि उद्धारमा मात्र केन्द्रित हुने अभ्यास परिवर्तन गर्नुपर्ने बताए ।

राहत सामग्री रणनीतिक स्थानमा भण्डारण

मनसुनका वेला सडक सम्पर्क विच्छेद हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रदेश सरकारले विभिन्न रणनीतिक स्थानमा उद्धार तथा राहत सामग्री भण्डारण गरिसकेको छ । मुख्यमन्त्री बानियाँका अनुसार नुवाकोट र मकवानपुरको हेटौँडा–थाना भर्याङलगायतका स्थानमा आवश्यक सामग्री सुरक्षित रूपमा राखिएको छ । आवश्यकताअनुसार ती सामग्री तत्काल प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

कार्यक्रममा विपत् व्यवस्थापनमा सुरक्षा निकायको विशिष्टीकृत भूमिकाबारे पनि विस्तृत छलफल भएको थियो । मुख्यमन्त्री बानियाँले राष्ट्रिय अनुसन्धान विभागले सम्भावित जोखिमसम्बन्धी सूचना तत्काल उपलब्ध गराउने, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आ–आफ्नो विशेष तालिम र क्षमताअनुसार उद्धार कार्य सञ्चालन गर्नुपर्ने बताए । उनले सबै सुरक्षा निकायको तालिम, उपकरण र कार्यशैली फरक–फरक हुने भएकाले एउटै ढाँचामा होइन, विशेषज्ञताअनुसार परिचालत हुन पनि स्पष्ट पारे ।

कार्यक्रममा कानुनमन्त्री शिवराज अधिकारीले विपत् व्यवस्थापनमा तीनै तहका सरकारबिच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए । उनका अनुसार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकासँग नियमित सूचना आदान–प्रदान हुने व्यवस्था मिलाइनेछ ।

स्थानीय तहमा रहेका प्रहरी तथा उद्धार संयन्त्रलाई थप क्षमता विकास तालिम दिने विषयमा समेत छलफल भइरहेको उनले जानकारी दिए । उनले विपतका वेला स्थानीय सरकार नै पहिलो उद्धारकर्ता हुने भएकाले उनीहरूको तयारी मजबुत बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बागमती प्रदेशअन्तर्गत राष्ट्रिय अनुसन्धान विभाग, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

सुझावित समाचार