वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका– ८ बस्ने पाल्पाको रैनादेवी गाउँपालिका– १ घर भएका ३५ वर्षीय माधव अर्याल रहेका छन्।
प्रहरीका अनुसार अर्यालले अमेरिका पठाइदिने आश्वासन दिँदै एक व्यक्तिबाट तीन लाख रुपैयाँ लिएपछि सम्पर्कविहीन भएका थिए। पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई काठमाडौं महानगरपालिका– १३ बाट पक्राउ गरेको हो।
पक्राउ परेका अर्याललाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।