नेपाली चलचित्र भाडदौड शुक्रबारदेखि प्रदर्शनमा आएको छ । यो चलचित्र देशभरका हलहरूमा एकसाथ प्रदर्शनमा आएको निर्माण पक्षले जनाएकाे छ । चलचित्रको मुख्य भूमिकामा कलाकार घनश्याम जोशी र विशाल पोखरेल छन् । यो सिनेमाले जीवनको भागदौडको कथा भन्छ। अर्थात् आममानिसको जीवनको दौडधुपलाई चलचित्रको पर्दामा उतारिएको छ। यो जीवनको संघर्ष र यथार्थ बोकेको हास्यव्यंग्यप्रधान चलचित्र हो ।
कलाकार जोशीले यो चलचित्रमा दर्शकलाई हसाउने र ‘इमोसनल’ बनाउने ‘सिन’हरू रहेको बताए। आममानिसको जीवनका दुःख, पीडा र भोगाइका विषयवस्तुलाई चलचित्रमा देखाउन खोजिएको उनले जानकारी दिए। उनका अनुसार चलचित्रले नेवारी संस्कृतिलाई जोडेर आममानिसको यथार्थ र संघर्ष प्रस्तुत गरेको छ।
१० कक्षा पास गरेपछि इन्जिनियरिङ पढ्न चाहने एउटी युवतीले आफ्नो सपनााहरू पूरा गर्न गरेको संघर्षलाई कथानक बनाइएको छ। युवतीको संघर्षमा नेवारी समाजलाई प्रभाव पार्न आउने पात्रको रूपमा जोशी देखिएका छन्। समाजमा देखिएका विकृति नियन्त्रण गर्ने दायित्व बोकेका सुरक्षाकर्मीको रुपमा पोखरेल छन् । चलचित्रले समाजको ऐना देखाएको अर्का कलाकार पोखरेलले बताए। समाजको संस्कार, संस्कृति बोकेको यो चलचित्र नेपाली माटो सुहाउँदो रहेको उनले बताए।
जोशी र पोखरेलसँगै चलचित्रमा अनिषा श्रेष्ठ, शारदा राई, शेखर चापागाईंलगायत कलाकार प्रमुख भूमिकामा छन् । त्यस्तै, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर, महर्जन, सुशास तिमिल्सिनाजस्ता सिनेमाको पर्दामा स्थापित कलाकारहरूको अभिनय रहेको छ ।
यो चलचित्र सुप्रिम म्युजिक एन्ड फिल्म प्रालिले निर्माण गरेको हो । विश्वराम विष्ट निर्माता रहेको चलचित्रको लेखन तथा निर्देशन हिमाल उप्रेतीले गरेका हुन्। चलचित्रका गीतहरूमा वसन्त सापकोटा र प्रकाश नेपालीले संगीत भरेका छन् भने गीतको लेखन वसन्त सापकोटा र निर्देशक उप्रेतीले गरेका छन्। गीतहरूमा मिलन नेवार, अस्मिता अधिकारी र प्रह्लाद तिमिल्सिनाजस्ता लोकप्रिय गायक–गायिकाले स्वर दिएका छन्।