अनुमतिविना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरे कारबाही हुने

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण

शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्रालयको पूर्वअनुमतिविना ए–लेभल, सिबिएसई, आइबिडिपीलगायतका विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेपछि मन्त्रालयले यसको प्रभावकारी कार्यान्वयनमा कडाइ थालेको हो। नयाँ नियमावलीले विदेशी सम्बन्धनमा सञ्चालन हुने शैक्षिक कार्यक्रमको गुणस्तर सुधार तथा नियमनलाई थप व्यवस्थित बनाउने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलका अनुसार केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको पाइएकाले कानुनी व्यवस्थाबारे पुनः सचेत गराइएको हो।

मन्त्रालयले अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका संस्थाबारे जानकारी भए तीन दिनभित्र लिखित रूपमा मन्त्रालयमा जानकारी गराउन सरोकारवालासँग आग्रह गरेको छ।

नयाँ नियमावली लागू भएसँगै नेपालमा विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थासँग सम्बन्धन लिएर सञ्चालन हुने शैक्षिक कार्यक्रमका लागि नयाँ मापदण्ड लागू हुने मन्त्रालयले जनाएको छ।

सुझावित समाचार