६ विद्यालयलाई कुमारी बैंकको स्मार्ट टेलिभिजन सहयोग

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण

कुमारी बैंक लिमिटेडले बाजुराका दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिकाका ६ वटा सामुदायिक माध्यमिक विद्यालयलाई स्मार्ट टेलिभिजन उपलब्ध गराएको छ । यो सहयोग बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले गरेको हो । बैंकका अनुसार गौमुल गाउँपालिका– ५ स्थित श्री मानाकोट मावि, वडा नं २ स्थित श्री जनज्योति मावि र श्री फूलपाता मावि, वडा नं १ स्थित अम्लिस मावि, वडा नं ३ स्थित बालविकास मावि तथा वडा नं ६ स्थित श्री कीर्तिचौर माविलाई सहयोग गरिएको हो ।

गाउँपालिकाको समन्वयमा बैंकको गौमुल शाखामार्फत सञ्चालन गरिएको सहयोगबाट ग्रामीण तथा दुर्गम भेगका विद्यालयमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण सिकाइलाई प्रवर्द्धन गर्ने, विद्यार्थीको डिजिटल शिक्षामा पहुँच विस्तार गर्ने तथा गुणस्तरीय शिक्षाको अवसरलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको बैंकले जनाएको छ । भौगोलिक कठिनाइका कारण आधुनिक शैक्षिक स्रोत–साधनको पहुँच सीमित रहेको गौमुल क्षेत्रका विद्यालयमा शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी, रोचक र प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

बैंकले ग्रामीण तथा सहरी क्षेत्रबिचको शैक्षिक अवसर र स्रोत–साधनको असमानतालाई न्यूनीकरण गर्न यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । बैंकले उपलब्ध गराएको स्मार्ट टेलिभिजनमार्फत विद्यार्थीलाई डिजिटल सामग्री, श्रव्य–दृश्य माध्यम तथा आधुनिक प्रविधिमा आधारित शिक्षासँग जोड्न सहयोग पुग्ने विश्वास लिइएको छ । यसबाट दुर्गम क्षेत्रका विद्यार्थीले पनि सहरी क्षेत्रका विद्यार्थीसरह प्रविधिमैत्री सिकाइको अवसर प्राप्त गरी गुणस्तरीय शिक्षामा समान पहुँच हासिल गर्न सक्ने अपेक्षा गरिएको बैंकको भनाइ छ ।

सुझावित समाचार