त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्ने २५ वर्षीय गणेश नेपाली अनलाइन राइडर रहेको खुलेको छ। नेपालीले बिहीबार अपराह्न विभागको ३ नम्वर गेटअगाडि शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
प्रहरीका अनुसार उनी राइडिङका क्रममा घटनास्थल पुगेका थिए। यही क्रममा उनको काठमाडौं महानगरका नगर प्रहरीसँग भनाभन भएको थियो। त्यसपछि नगर प्रहरीले उनको मोटरसाइकलमा ह्विल लक गरेको थियो। त्यसपछि नेपालीले शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले भने, ‘आत्मदाह प्रयास गर्ने युवा सेयर राइडर रहेको बुझिएको छ। उनको मोटरसाइकलको ह्विल लक गरिएको रहेछ। त्यसअघि नगर प्रहरीसँग उनको भनाभन पनि भएको देखिन्छ।’
प्रहरीका अनुसार उनको शरीरको ६० प्रतिशत भाग जलेको छ। सबैभन्दा धेरै चोट छाती, घाँटी, अनुहार र हातमा लागेको छ। उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आइसियूमा राखेर उपचार गर्ने तयारी भइरहेको छ।