नेकपा एमालेले संविधान संशोधन बहसपत्र कार्यदलबाट आफ्नो प्रतिनिधि फिर्ता बोलाएको छ। पार्टीका महासचिव शंकर पोखरेलले बिहीबार कार्यदलका संयोजक असिम शाहलाई पत्र पठाउँदै एमालेका तर्फबाट सदस्य रहेका डा. भीष्म अधिकारीलाई औपचारिक रूपमा फिर्ता बोलाइएको जानकारी दिएका हुन्।
कार्यदलका प्रारम्भिक बैठकहरूमा सहभागी भएका अधिकारी पछिल्ला बैठकहरूमा भने अनुपस्थित थिए। एमालेले कार्यदलको कामकारबाही सुरुदेखि नै अस्पष्ट र सन्देहास्पद रहेको आरोप लगाएको छ। पार्टीका अनुसार संविधान संशोधनका विषय स्पष्ट रूपमा निर्धारण नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको धारणा प्रस्ट नभएको तथा बहसमा ल्याइएका केही विषय संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मविपरीत देखिएका छन्।
एमालेले यी विषयमा सरकारसँग पटक–पटक स्पष्ट धारणा माग गरे पनि कुनै ठोस जवाफ नपाएको जनाएको छ। पार्टीले वर्तमान संविधानका आधारभूत विशेषतालाई थप सुदृढ बनाउँदै विगतका कमजोरी सुधार गर्ने उद्देश्यले मात्र संविधान संशोधन हुनुपर्ने आफ्नो अडान दोहोर्याएको छ।
महासचिव पोखरेलले पठाएको पत्रमा सरकारबाट पार्टीका प्रस्तावबारे अहिलेसम्म कुनै स्पष्ट जवाफ नआएकाले कार्यदलबाट प्रतिनिधि फिर्ता बोलाउने निर्णय गरिएको उल्लेख गरिएको छ।
