पूर्वसांसद सन्तोष चालिसेविरुद्धको भ्रष्टाचार मुद्दामा अदाललते विशेषज्ञ झिकाउने आदेश गरेको छ । विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बुधबार विशेषज्ञ झिकाउने आदेश दिएको हो ।
गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा तीन करोड ६८ लाख रुपैयाँ अवैध आर्जन गरेको अभियोगमा कांग्रेसका नेता चालिसेविरुद्ध गत २८ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
कमिसन लिएर जग्गा प्लटिङको अनुमति दिएको तथा आफूनिकटस्थहरूलाई ठेक्का दिएर लाभ लिएको उजुरीका आधारमा अख्तियारले छानबिन गरेको थियो । यसक्रममा उनीसँग आठ करोड ५६ लाख ८३ हजार ५९५ रुपैयाँबराबरको सम्पत्ति भेटिएको थियो । त्यसमध्ये तीन करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँबराबरको सम्पत्तिको स्रोत नखुलेकाले सोबराबरको सम्पत्ति जफत र सोहीबराबरको जरिवाना सजाय मागदाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो ।
अकुत सम्पत्ति श्रीमती मन्दिरा चालिसे, छोराहरू सागर चालिसे र सञ्जीव चालिसे तथा बुहारी प्रमिला पोखरेलको नाममा रहेकाले उनीहरूलाई समेत सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ।
गोकर्णेश्वर नगरपालिकाको मेयर पदमा शपथ लिएको दिन ८ जेठ ०७४ देखि ३२ असार ०७९ सम्मको पाँच वर्षको सम्पत्ति जाँच गर्दा अस्वाभाविक वृद्धि भेटिएको हो । ०७९ को संसदीय निर्वाचनमा उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी संसद्को अर्थ समितिको सभापतिसमेत थिए । तर, संसद् भएपछिको उनको सम्पत्ति भने छानबिन भएको छैन ।
पाँच वर्ष मेयर छँदा १० ठाउँमा घरजग्गा खरिद
कांग्रेस नेता सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकाको मेयर भएपछि आफ्नो र परिवारको नाममा १० ठाउँमा जग्गा खरिद गरेका थिए । सबैजसो घरजग्गा गोकर्ण क्षेत्रमै छन् । त्यसमध्ये कतिपय अन्य व्यक्तिसँगको साझेदारीमा खरिद भएका छन् । मालपोतको रजिस्ट्रेसन पासको विवरणअनुसार उनले दुई करोड ८९ लाख जग्गा खरिदमा लगानी गरेका छन् ।
०७७ मा गोकर्णेश्वर– ९ मा १३ आना जग्गामा ७० लाख खर्चिएर घर पनि बनाएका थिए । हाल चालिसे र उनको परिवारको नाममा गोकर्णेश्वरका विभिन्न स्थानमा करिब तीन रोपनी जग्गा छ । बैंक खातामा १८ लाख ४६ हजार भेटिएको थियो भने परिवारसँग रहेको ९१ लाख १९ हजार सेयर बजारमा लगानी गरेका थिए ।
पाँच कम्पनीमा ५० लाख ३१ हजार ६ सय रुपैयाँ लगानी भएको अनुसन्धानमा देखिन्छ । चालिसे परिवारले शिवपुरी इको टुरिजम एन्ड केबलकार प्रालि, गोकर्ण हिल साइड रिसोर्ट प्रालि, इन्जिनियरिङ एन्ड एजुकेसन जोन, फुच्चु फनपार्क, उग्रतारा स्यान्ड फुटबल एन्ड रिक्रियसन सेन्टरमा लगानी गरेको छ । परिवारसँग ५० तोला सुन र एक सय तोला चाँदी रहेको अनुसन्धानमा भेटिएको छ । उनका सबै आम्दानी र खर्च हिसाब गर्दा अस्वाभाविक देखिएको अख्तियारले जनाएको छ ।
सम्पत्ति शुद्धीकरण कसुरमा छानबिन जारी
भ्रष्टाचारको सम्पत्ति लुकाउन प्रयास गरेकोमा सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अख्तियारले छुट्टै अनुसन्धान गरिरहेको छ । उनले अकुत सम्पत्ति शुद्धीकरण गर्ने उद्देश्यले ल्हाक्पासोनाम शेर्पासँग ऋण लिएको भनेर गोकर्णेश्वर– ८ का कार्यवाहक अध्यक्ष नन्दलाल श्रेष्ठले प्रमाणित गरिदिएका थिए । त्यस्तै, उनका छोरा सागर चालिसेले शिवम् बचत तथा ऋण सहकारी संस्थाबाट लिएको ऋण तथा फुच्चु फनपार्कमा गरेको लगानी आफूले गरिदिएको भनेर सागर घिमिरेले कागज गरेका छन् ।
यो विषयमा पनि अख्तियारले विस्तृत छानबिन गरिरहेको छ। भ्रष्टाचारको सम्पत्ति जोगाउनकै लागि यसरी लेनदेनका नक्कली कागजात बनाउने र त्यसलाई वडा कार्यालयबाट समेत प्रमाणित गराउने प्रवृत्ति देखिएको अख्तियारले जनाएको छ । साथै, चालिसेले ०७७/७८ मा सम्पत्ति विवरण नबुझाएको हाल अनुसन्धानमा खुलेको थियो । त्यस विषयमा जरिवाना गराउन अख्तियारले राष्ट्रिय सतर्कता केन्द्रलाई लेखी पठाएको थियो।