महँगी नियन्त्रण गर्न रास्वपा सांसदको आग्रह

बुधबार, २४ असार, २०८३
डिजिटल संस्करण

रास्वपा सांसद श्रद्धा कुँवर क्षेत्रीले नागरिकको भान्सामा महँगी बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्। बुधबार प्रतिनिधिसभा बैठकमा सांसद कुँवरले मूल्यवृद्धिका कारण जीवनयापन गर्न समस्या भइरहेको बताइन्।

सय दिनको अवधिमा सरकारले सुशासन र प्रभावकारी सार्वजनिक सेवामा ध्यान केन्द्रित रहेको सन्देश दिन सफल भएकोमा धन्यवाद दिँदै उनले भनिन्, ‘तर, रुपन्देही क्षेत्र नम्बर १ का महिला दिदीबहिनीहरूले फोन गर्नुहुन्छ– बजारमा बढ्दो महँगी छ। घर र भान्साका सामग्रीहरूमा बढेको मूल्यवृद्धिले गर्दा जीवनयापन गर्न समस्या भइरहेको गुनासो पोख्नुहुन्छ।’

सुशासन र समृद्धिको संरचना तयार गर्दै गर्दा तत्काल नागरिकको जीवनमा प्रभाव पर्ने सामान्यजस्ता लाग्ने समस्यामा पनि ध्यान दिन सांसद कुँवरले सरकारको ध्यानाकर्षण गराइन्।

‘एकातिर पैसा तिरेर पनि सेवा नपाउने, अर्कोतर्फ अप्रत्याशित महँगी बढेको कारणले गर्दा दैनिक रूपमा जीवनयापन गर्न नै समस्या भएकाले सरकारलाई आग्रह गर्न चाहन्छु– सुशासन र समृद्धिको संरचना तयार गर्दै गर्दा तत्काल नागरिकको जीवनमा प्रभाव पर्ने यस्ता सामान्य समस्यामा पनि ध्यान जाओस्,’ उनले भनिन्।
 

सुझावित समाचार