गत वर्ष जेन–जी आन्दोलनका क्रममा नक्खु कारागारबाट फरार भएका लागुऔषध मुद्दाका एकजना कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले मकवानपुरको बकैया गाउँपालिका– ४, जुरेली बजारबाट फरार प्रतिवादी ३९ वर्षीय सुकलाल वाइबालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बकैया गाउँपालिका– ६, ज्यामिरे निवासी वाइबा लागुऔषध (अफिम) मुद्दामा २० वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए । उनी ०८२ साल भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा नक्खु कारागारबाट फरार भएका थिए ।
फरार भएपछि प्रहरीले उनको खोजीकार्यलाई निरन्तरता दिएको थियो । सोही क्रममा प्राप्त सूचनाका आधारमा फापरबारी प्रहरीले जुरेली बजारबाट उनलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ । पक्राउ परेका वाइबालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बाँकी कैद सजाय भुक्तानका लागि भीमफेदी कारागार पठाइएको प्रहरीले जनाएको छ ।