कपिलवस्तुको बाणगंगा नगरपालिकाले सञ्चालन गरेको एकदिने एकीकृत घुम्ती शिविरबाट नाै सयभन्दा बढी स्थानीय नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । नगरपालिकाले वडा नम्बर ९ स्थित भर्तापुर आधारभूत विद्यालयपरिसरमा शिविर आयोजना गरेको थियो ।
प्रशासनिक पहुँचभन्दा टाढा रहेका ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरी आयोजना गरिएको उक्त शिविरमा कृषि, स्वास्थ्य, र आयुर्वेदलगायतका अत्यावश्यक सेवाहरू एकै थलोबाट उपलब्ध गराइएको हो ।
वाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्यालले नागरिकमैत्री शासन व्यवस्था नै आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् । उनले भने, ‘नागरिकलाई सामान्य कामका लागि पनि नगरपालिकासम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै घरदैलोमै सहज रूपमा सेवा उपलब्ध गराउनु हाम्रो दायित्व हो, नागरिकमैत्री सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र जनताप्रति उत्तरदायी बनाउन हामीले यो शिविर सञ्चालन गरेका हौँ ।’
शिविरमा सबैभन्दा बढी आकर्षण आयुर्वेद र कृषि शाखामा देखिएको थियो । जसअन्तर्गत आयुर्वेद सेवातर्फ २५४ जना र कृषि विकासतर्फ २५२ जनाले सेवा लिएका छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीका अनुसार शिविरमा सबै क्षेत्रका नागरिक समेटिएको तथ्यांक प्रस्तुत गर्दै मरासिनीले भने, ‘एउटै स्थानबाट यति धेरै शाखाको सेवा दिन सक्नु प्रशासनिक रूपमा ठुलो उपलब्धि नै मान्नुपर्छ ।’
शिविरमा स्वास्थ्यतर्फ १३७, पशु सेवामा १३६, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवामा ९१ र राजस्व तथा सुरक्षित आप्रवासनतर्फ १२ जना लाभान्वित भएको मरासिनीले बताए । नगरपालिकाले आगामी दिनमा पनि अन्य वडाहरूमा यस्ता जनमुखी र प्रभावकारी घुम्ती शिविरहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।