घटना १ : ललितपुरको इमाडोलस्थित सडकमा यात्रा गरिरहेकी ऋतु खनालको गत साता एक अपरिचित पुरुषसँग जम्काभेट भयो । सडक सुनसान थियो । हेर्दाहेर्दै अपरिचित पुरुषले पाइन्ट खोले । र, गोप्य अंग देखाए । पुरुषको अप्रत्याशित हर्कतबाट खनाल सुरुमा निःशब्द बनिन्, तर पुरुषको हर्कत रोकिएन । जब उनी प्रतिवादमा उत्रिन्, बल्ल पुरुष भाग्न थाले । खनालले भाग्दै गरेको पुरुषलाई पिछा गरिन् । उनलाई समात्न गुहार मागिन् । अन्ततः पुरुष समातिए । खनालले पुरुषको गालामा थप्पड हान्दै कान समातेर उठबस गर्न लगाइन् । र, खुट्टा ढोगाएर माफी माग्न लगाइन् । जब उनले मोबाइलमा कैद दृश्य सार्वजनिक गरिन्, ती पुरुष रक्षा मन्त्रालयका शिक्षा अधिकृत ५५ वर्षीय सुरेन्द्र भट्ट रहेको खुल्यो । भट्ट सोमबार नै पक्राउ परेका छन् । बैतडीको पाटन नगरपालिका– ७ का उनीविरुद्ध अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रले भने, ‘भट्टविरुद्ध पाँच दिनको म्याद थप भएको छ । घटना सम्बन्धमा अनुसन्धान जारी छ ।’
घटना २ : भक्तपुर मध्यपुर ठिमीस्थित नयाँ ठिमी चोकबाट अनिशा शर्मा (परिचय परिवर्तित) लोकन्थली जाने बस चढिन् । खाली रहेको सिटमा गएर सरासर बसिन् । गठ्ठाघर नपुग्दै एक अधबैँसे पुरुष युवतीनजिकैको सिटमा टाँसिएर उभिन आइपुगे । असहज महसुस गरेकी युवतीले कुनै प्रतिक्रिया जनाइनन् । पुरुष अझ नजिक सरे । युवती यसवेलासम्म पनि चुप नै बसिन् । हौसिएका पुरुष यतिमै रोकिएनन् । उनका हात युवतीको छातीतर्फ सलबलिन थाले । युवतीले धैर्य गुमाइन् र सिटबाट जुरुक्कै उठिन् । र, पुरुषलाई झापड हानिन् । सरासर प्रहरी वृत्त ठिमी पुगेर उनले जाहेरी दर्ता गरिन् । पक्राउपछि खुल्यो पुरुष सप्तरीका ३८ वर्षीय रवीन्द्र यादव रहेछन् । र, पेसाले उनी अधिवक्ता रहेछन् । पीडित युवतीका अनुसार यादव आठ हजार जरिवाना तिरेर जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट हिरासतमुक्त भइसकेका छन् ।
घटना ३ : प्रतिष्ठित सञ्चारमाध्यममा कार्यरत एक पत्रकार महिला गत वर्ष राजनीतिशास्त्रमा स्नातकोत्तर तहको परीक्षा दिन कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको प्रवेशद्वार पुगिन् । परीक्षा समय घर्किने डरले उनी हतातार क्रिकेट रंगशाला हुँदै जाने बाटो समातेर अघि बढिन् । घण्टाघर नजिक पुगेपछि एक पुरुष जंगलतर्फ फर्किएर सडकबाटै पिसाब गरिरहेको देखिए । दृश्यले पत्रकार महिलालाई असहज तुल्यायो । उनलाई अघि बढौँ कि पछि हटौँ भयो । बिच सडकमा अकमकिरहेकी महिला पुरुषको नजरमा परिन् । दृश्यले पुरुषलाई अप्ठ्यारो तुल्याएन, न उनले पिसाब नै रोके । बदलामा उनी फरक्क महिलातर्फ फर्किए । र, रल्लिँदै उल्टै हर्कतमा उत्रिए । पीडित महिलाका अनुसार ती पुरुष त्रिविकै सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मी थिए । परीक्षा छुट्ने भएपछि उनले घटनामा संलग्न पुरुषविरुद्ध उजुरी गर्न सकिनन् ।
सार्वजनिक स्थलमा भएका यौन दुर्व्यवहारसँग सम्बन्धित माथिका केही प्रतिनिधि घटना मात्रै हुन् । यस्ता घटना सार्वजनिक बस, टोल, चोक, पार्क, बसस्टप, डबली, बजार, विद्यालयदेखि शौचालयसम्म दैनिक हुने गर्छन् । जसमध्ये थोरै मात्रै जाहेरी बनेर कारबाहीका लागि प्रहरी कार्यालय दर्ता हुन्छन् । केही मिलापत्रमा टुंग्याइन्छ भने बाँकी सबै गुपचुपमै राससाफ तुल्याइन्छ ।
नेपाल प्रहरीमा दर्ता मुद्दाको दरले यही पुष्टि गर्छ । आर्थिक वर्ष ०८२/८३ को ११ महिनामा मुलुकभर यस्ता घटनासँग सम्बन्धित मुद्दा ११ वटा मात्रै दर्ता भए । जसमा ११ महिला पीडित बनेका थिए । घटनामा संलग्न ११ मध्ये १० जना पक्राउ परेका थिए । आव ०८१/८२ मा मुलुकभर यस्ता घटना २३ वटा दर्ता भए । जसमा २३ महिला पीडित बनेका थिए । घटनामा संलग्न २३ मध्ये २२ पक्राउ र एक फरार भएका थिए ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेले सार्वजनिक स्थानमा हुने यौन दुर्व्यवहारका अधिकांश घटना मिलापत्रमा टुंगिने बताए । उनले भने, ‘सार्वजनिक स्थानमा यौन दुर्व्यवहारका घटना हुने गर्छन् । जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग वा यस्तै प्रकृतिसँग सम्बन्धित कुनै घटना छन् भने ती मिलापत्र हुँदैन । त्यस्ता घटनामा मुद्दा नै दर्ता हुन्छन् । मिलापत्र गर्न सकिने अर्थात् गम्भीर प्रकृतिको छैन भने त्यसमा मिलापत्र हुन्छन् । त्यस्ता घटना मुद्दाका रूपमा दर्ता हुँदैनन् । कतिपय भने दर्ता नै गर्नुपर्ने हुन्छ । त्यस्ता घटना अभद्र व्यवहारअन्तर्गत दर्ता हुन्छ । त्यसो हुँदा दर्ता संख्या केही कम हुन गएको हो कि ?’
महिला आयोगकी अध्यक्ष कमला पराजुली सार्वजनिक स्थलमा हुने यौन हिंसालाई सामान्यीकरण गर्न नहुने मत राख्छिन् । यस्ता घटनाले महिलाको मनोविज्ञानमै असर पार्ने भएको हुँदा यस्ता घटनालाई गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ छ । ‘सार्वजनिक स्थलमा हुने यौन हिंसा बढ्दो छ । यस्ता घटनालाई अभद्र व्यवहारअन्तर्गत सिडिओले कारबाही गरेर पन्छाइदिने चलन छ । तर, यस्ता घटनालाई सामान्यीकरण गर्नु उपयुक्त देखिँदैन । किनकि यस्ता घटनाले महिलाको मनोविज्ञानमा नै गम्भीर असर गरिरहेको हुन्छ ।’
मनोविद् डा. करुणा कुँवरका अनुसार अधिकांश यस्ता घटना दूषित मानसिकताको उपज हो । कानुनको बेवास्ता, चेतनाको अभाव र मानसिक समस्याका कारण पनि यस्ता घटना हुने गरेको उनको भनाइ छ । ‘सार्वजनिक स्थलमा महिलामाथि यौन हिंसाका घटना सधैँजसो हुने गरेका छन् । यसका पछि केही कारण रहेको देखिन्छ । कतिपय पुरुषमा महिलाप्रतिको दृष्टिकोण नै गलत रहेको देखिन्छ । मैले जे गर्दा हुन्छ भन्ने मानसिकता त्यस्ता पुरुषमा रहेको देखिन्छ । कमजोर कानुनी प्रवाधन र भएकै कानुनलाई पनि नजरअन्दाज गर्ने प्रवृतिका कारण पनि यस्तो भएको देखिन्छ । कतिपय पुरुषमा चेतना पनि छैन । त्यसो हुँदा पनि यस्ता घटना हुने गरेको पाइन्छ । समग्रमा यस्ता सबै घटना दूषित मानसिकताको उपज हुन् । किनकि स्वस्थ पुरुषले यस्ता घटना गर्नै सक्दैन,’ उनले भनिन् ।