मंगलबार १० बजेसम्मका प्रमुख १० खबर

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

नक्कली भुटानी शरणार्थी मुद्दामा कसुर ठहरको फैसला, सजाय निर्धारण बाँकी

उच्च पदस्थ जोडिएको नक्कली भुटानी शरणार्थी मुद्दाका कसुर ठहरको फैसला भएको छ। । जिल्ला अदालत, काठमाडौंले मंगलबार यस मुद्दामा फैसला सुनाएको हो। सजाय निर्धारण भने अर्काे पेशीमा तोकिने न्यायाधीश तेजबहादुर खड्काको इजलासको आदेशमा भनिएको छ।  गत २७ जेठदेखि यस मुद्दामा जिल्ला अदालतमा निरन्तर सुनुवाई हुँदै आएको थियो। 

 यस मुद्दामा १४ जना दोषी ठहर भएका छन् भने फरार रहेका ८ जनाको हकमा मुल्तवीा राखिएको छ। 

यस्तो छ मौद्रिक नीतिको पूर्णपाठ

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर  डा. विश्वनाथ पौडेलले मंगलबार मौद्रिक नीति सार्वजनिक गरेका हुन्।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले मौद्रिक नीतिले लचिलो नीतिलाई निरन्तरता दिएको बताए। बजेटले आर्थिक गतिविधि सुधार हुने र तरलता खपत हुँदै जाने भए पनि रेमिट्यान्स, पर्यटन आय, सार्वजनिक खर्च आदिले थप तरलता प्रवाह हुँदा तरलतामा थप दबाब नपर्ने आकलन रहेको उनले बताए।

नक्कली भुटानी शरणार्थी मुद्दामा अदालतले भन्यो–नेपालको अन्तर्राष्ट्रिय छविमा दाग लाग्ने अपराध

नक्कली भुटानी शरणार्थीसम्बन्धि मुद्दामा चारैवटा कसुर ठहर भएको छ। जिल्ला अदालतले मंगलबार फैसला सुनाउँदै राज्यविरुद्धको कसुर, संगठित अपराध, ठगी  र लिखत कीर्ते  कसुर ठहर गरेको हो। 

राज्यविरुद्धको कसुरमा १५ जना दोषी ठहर भएका छन्। टोपबहादुर रायमाझी, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देष शर्मा, डा.इन्द्रजित राई, गोविन्द चौधरी, आङटावा शेर्पा प्रतिवादीका रुपमा ठहर भएका छन्। त्यस्तै, बालकृष्ण खाण, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन खरेल मतियारको रुपमा दोषी ठहर भएका छन्। 

ध्रुर्बे हात्तीपीडित परिवारलाई राहत र रोजगारी, निगरानी गर्न नयाँ स्याटेलाइट रेडियोकलर जडान गरिँदै

भरतपुर महानगरपालिका– २३, जगतपुरमा चार दिनअघि घरमै पसेर २३ वर्षीया आशिका बोटे र उनका चारवर्षीय छोरा भरत बोटेको ज्यान लिने जंगली हात्ती ‘ध्रुर्बे’को गतिविधि नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जले नयाँ स्याटलाइट रेडियोकलर जडान गर्ने तयारी गरेको छ।

चितवन राष्ट्रिय निकुञ्ज स्रोतका अनुसार ध्रुवेको शरीरमा नयाँ स्याटलाइट रेडियोकलर जडान गर्न प्राविधिक टोली निकुञ्जमा आइपुगेको छ। टोलीले डार्ट बन्दुकमार्फत बेहोस बनाउने सुई प्रयोग गरी हात्तीलाई नियन्त्रणमा लिएपछि नयाँ रेडियोकलर जडान गर्नेछ।

मानिसप्रति अत्यन्त आक्रामक व्यवहार देखाउँदै आएको ध्रुर्बेलाई डार्ट गर्ने क्रममा उसको उत्तेजना कम गर्ने औषधिसमेत प्रयोग गर्ने तयारी गरिएको निकुञ्जले जनाएको छ।

प्रक्रिया पूरा भएपछि निस्सा बदर, जग्गा पाउने आशामा रहेका सुकुमवासी अन्योलमा

भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई वितरण गर्ने भनेर निस्सासमेत दिइएको अनुमानित ७ बिघाभन्दा बढी ऐलानी जग्गा त्रियुगा नगरपालिकाले फिर्ता लिने भएको छ। नगरपालिकाले वडा नं ९, गैरुनस्थित इँटाभट्टा दक्षिणतर्फ सरस्वती टोल विकास क्षेत्रमा पर्ने उक्त जग्गाको निस्सा बदर गर्ने निर्णय गरेपछि जग्गाको प्रतीक्षामा रहेका १७ जना लाभग्राही अन्योलमा परेका छन्।

नगरपालिकाको भूमि व्यवस्था शाखाले सार्वजनिक सूचना जारी गर्दै ऐलानी जग्गाको फाराम संकलन, नापजाँच, कम्प्युटर प्रविष्टि तथा निस्सा वितरण भइसकेको उक्त जग्गाको निस्सा बदर प्रक्रिया अघि बढाइएको जनाएको छ। जेठ २९ गते बसेको ६२औँ कार्यपालिका बैठकले खेलमैदान तथा विद्यालयका लागि आवश्यक सार्वजनिक जग्गा संरक्षण गर्ने उद्देश्यले उक्त निर्णय गरेको शाखाका प्रमुख इन्जिनियर रूपक तिम्सिनाले हस्ताक्षर गरेको सूचना छ।

‘यो अघिल्लो मेयर बलदेव चौधरीको पालामा दिने निर्णय भएको हुन सक्छ। मलाई प्रस्ट थाहा भएन। तर, हाललाई कार्यापालिकाको बैठकले निर्णय गरेको हो,’ उनले भने।

संसदका दुवै सदनबाट बजेट पारित

संघीय संसदका दुवै सदनबाट सरकारको आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। यसअघि प्रतिनिधिसभाबाट पारित बजेट मंगलबार राष्ट्रिय सभाबाट बहुमतले पारित भएको हो।

राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८३ लाई पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव बहुमतले पारित भएको हो।

कांग्रेसको नीति प्रतिष्ठानमा थप आठ सदस्य मनोनयन

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा थप आठजना मनोनीत भएका छन्। पार्टी उपसभापति एवं प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले पार्टी विधानअनुसार थप आठ सदस्य नियुक्त गरेका हुन्।

प्रकाश पन्थ, डा. प्रेमध्वज लामा, विज्ञान प्रसाईं, रेशम गुरुङ, सीताराम काफ्ले, प्रतीक्षा चापागाईं, मोहन गजुरेल र अनुपा श्रेष्ठ मनोनीत भएका हुन्।

६ किलो सुनसहित पक्राउ परेका व्यापारीको ७३ लाख रुपैयाँ पनि जफत हुने अदालतको फैसला

सम्पत्ति शुद्धीकरणको कसुरमा व्यापारी बलरामप्रसाद गुप्ताको ७३ लाख ३० हजार पाँच सय रुपैयाँ जफत हुने फैसला अदालतले गरेको छ। विशेष अदालतले मंगलबार फैसला सुनाउँदै स्रोत खुलाउन नसकेको भन्दै जफत हुने ठहर गरेको हो।

यसअघि उनीसँग बरामद भएको ६ केजी सुन पनि सुन चोरी निकासी पैठारीसम्बन्धी कसुरमा ठहर भई जफत हुने फैसला भइसकेको छ। नगदको पनि स्रोत खुल्न नसकेपछि जफतको फैसला भएको हो। तर, विशेष अदालतले सजाय भने सुनाएको छैन। 

क्रेडिट स्कोरिङमा आधारित ‘पियर टू पियर’ कर्जा प्रणालीबारे राष्ट्र बैंकले अध्ययन गर्ने

नेपाल राष्ट्र बैंकले व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणालीमा आधारित ‘पियर टू पियर’ लेनदेन सञ्चालन गर्ने सम्बन्धमा अध्ययन गर्ने भएको छ। मंगलबार आगामी आर्थिक वर्ष ०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो घोषणा गरेको हो।

केन्द्रीय बैंकले कर्जाको सुरक्षणस्वरूप व्यक्तिगत जमानीबाट असीमित दायित्व सिर्जना हुने अवस्था हटाउन तथा चेक अनादरका कारण कालोसूचीमा परी बैंकिङ सेवाको पहुँचमा बाधा पर्ने अवस्था कम गर्न  विशेष नीतिगत व्यवस्था गर्ने जनाएको छ।

वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गरिने

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गर्ने भएको छ। आगामी आर्थिक वर्ष ०८३/८४ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो घोषणा गरेको हो।

केन्द्रीय बैंकले विदेशी मुद्रा खरिदमार्फत हुने तरलता प्रवाह व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गर्ने नीति लिएको हो। साथै विदेशी मुद्रा खरिदकै बखत स्टेरलाइज्ड इन्टरभेन्सन गर्ने नीतिगत व्यवस्था गरिने घोषणा गरिएको छ।

सुझावित समाचार