ललितपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

ललितपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। जिल्लाका ६ वटै पालिकाहरूमा पूर्ण खोप सुनिश्चित भएपछि जिल्ला खोप समन्वय समिति र जिल्ला जनस्वास्थ्य कार्यालयले औपचारिक रूपमा मंगलबार पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन्।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले हरेक बालबालिकाको खोप लगाउने अधिकार सुनिश्चित गर्न प्रदेश सरकारदेखि स्थानीय सरकारसम्मले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए।'

सरकारले हरेक वर्ष खोप कार्यक्रम सकिएपछि आर्थिक वर्षको अन्तिममा पूर्ण खोप सुनिश्चितता घोषणा गर्छ। यो क्रम स्थानीय पालिका, जिल्ला, प्रदेश हुँदै संघीय सरकारसम्म पुग्छ। सबै प्रदेशमा खोप सुनिश्चितता भएपछि संघीय स्वास्थ्य मन्त्रालयले पनि पूर्ण खोप सुनिश्चितता भएको घोषणा गर्ने चलन छ। खोप कार्यक्रमलाई व्यवस्थित र यसको पहुँच विस्तारका लागि सरकारले हरेक वर्षको वैशाख महिनालाई ‘खोज र खोप’ अभियानसमेत सञ्चालन गर्छ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले पूर्ण खोपको सुचिश्चितता र दिगोपनाको लागि हरेक पालिकास्तरसम्म पुगेर खोप कार्यक्रम व्यवस्थित गरिएको बताए। 

‘वर्षका सबै खोप कार्यक्रम सम्पन्न गर्छौं, त्यसपछि घोषणा गर्छौं, वैशाख महिनालाई खोप अभियानकै रूपमा सञ्चालन गर्छौं, कोही पनि बालबालिका नछुटून् भनेर हामीले घरधुरी सर्वेक्षण गरेर काम गर्छौं, फागुनदेखि नै हामीले जिल्लामा अभियान चलाउँछौँ,’ उनले भने, ‘पाँच वर्षभन्दा कम उमेरका कुनै पनि बालबालिको कुनै प्रकारको खोप छुटेको छ भने खोजीखोजी वितरण गर्छौं।’

सुझावित समाचार