नक्कली भुटानी शरणार्थी प्रकरण : फैसला सुनाउने जिल्ला अदालतको तयारी

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

उच्चपदस्थ व्यक्तिहरूसमेत मुछिएको बहुचर्चित नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा सुनुवाइ सकिएको छ । जिल्ला अदालत, काठमाडौंले मंगलबार नै फैसला सुनाउने तयारी गरिरहेको छ। 

न्यायाधीश तेजबहादुर खड्काको इजलासमा गत २७ जेठदेखि मुद्दाको सुनुवाइ सुरु भएको हो । त्यसयता हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ भइरहेको यस मुद्दामा दुई पूर्वमन्त्री, बहालवाला सचिव, गृहमन्त्रीका सुरक्षा सल्लाहकार, मन्त्रीका निजी सचिव तथा पूर्वसभासद्सहित उच्चपदस्थहरू प्रतिवादी छन् । अदालत स्रोतका अनुसार फैसला लेखनको प्रक्रिया अघि बढिसकेको छ। 

१० जेठ ०८० मा जिल्ला सरकारी वकिलको कार्यालयले सुरुमा ३० जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा संगठित अपराधसम्बन्धी आरोपमा मुद्दा दायर गरेको थियो । पछि ९ वैशाख ०८१ मा थप पाँचजनालाई प्रतिवादी बनाई अर्को मुद्दा दायर गरिएको थियो भने बेचन झा पक्राउ परेपछि २९ साउन ०८१ मा तेस्रो मुद्दा दर्ता गरिएको हो । यी तीनै मुद्दालाई एकीकृत गरी अदालतले सुनुवाइ गरी फैसला सुनाउन लागेको हो।  

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसभासद् आङटावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत यसमा प्रतिवादी छन्। 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई पुनर्वासका नाममा अमेरिका लैजाने नाममा सर्वसाधारणबाट करोडौँ रकम उठाई संगठित रूपमा ठगी गरेको अभियोगपत्रमा उल्लेख छ । प्रतिवादीविरुद्ध सात वर्षसम्म कैदको माग गरिएको छ । गृह मन्त्रालयकै मिलेमतोमा दर्तामा छुट भएका भुटानी शरणार्थीको सूचीमा नेपालीको नाम राखेर अमेरिका पठाउने भन्दै करोडौँ असुली भएको थियो। 
 

सुझावित समाचार