वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा झापा घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ४८ वर्षीय टीका कार्की, सुनसरी घर भई काठमाडौं महानगरपालिका– १६ बस्ने ४६ वर्षीया सरिता बान्तवा राई, नुवाकोट घर भई टोखा नगरपालिका– ६ बस्ने २५ वर्षीय अग्रिमविक्रम तिमोथी, धादिङ घर भई काठमाडौं महानगरपालिका– १५ बस्ने ४९ वर्षीय दीपकचन्द्र गौतम, मोरङ घर भई काठमाडौं महानगरपालिका– २६ बस्ने ४४ वर्षीय धनप्रसाद काफ्ले, रूपन्देही घर भई काठमाडौं महानगरपालिका– ११ बस्ने ४० वर्षीया रूपा सुनार तथा जुम्ला घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका– ४ बस्ने २९ वर्षीय रमेश स्वाँर रहेका छन्।
पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।