सरकारले सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने दिशामा काम गरिरहेको छ : उपाध्यक्ष डा. भट्ट

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले सरकारले सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने दिशामा काम गरिरहेको बताएका छन्। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २५औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टले सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउँदै आर्थिक गतिविधि विस्तार गर्न सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको बताए। उनले वर्तमान सरकारले निजी क्षेत्र र सहकारी क्षेत्रसँग सहकार्य गर्दै आर्थिक सुदृढीकरणका कार्यक्रमलाई प्राथमिकता दिएको उल्लेख गरे।

उपाध्यक्ष भट्टले गरिबी निवारण तथा ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि विस्तारमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै संस्थालाई अब विशिष्टीकृत संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए। वास्तविक किसानसम्म पुगेर प्रभावकारी रूपमा काम गरेको अनुभवका आधारमा संस्थाको क्षमता थप विस्तार गर्न सके यसको प्रभाव अझ व्यापक हुने उनको भनाइ थियो।

देशको आर्थिक सुधारमा साना किसानको योगदान महत्त्वपूर्ण रहने उल्लेख गर्दै उनले साना किसानको उत्थानमार्फत मात्रै गरिबी न्यूनीकरण र आर्थिक–सामाजिक रूपान्तरण सम्भव हुने बताए। यसका लागि सरकारले सरकारी, निजी तथा सहकारी क्षेत्रको संस्थागत सुदृढीकरणमार्फत दिगो विकासका कार्यक्रम अघि बढाउने उनले जानकारी दिए।

ठुला पूर्वाधार आयोजना निर्माणसँगै साना उद्यमीलाई पनि अवसर सिर्जना गर्ने सरकारको नीति रहेको उल्लेख गर्दै भट्टले समावेशी सहभागितालाई अझ सशक्त बनाइने बताए। साना किसान समूहको सक्रिय सहभागिताले सरकारका समावेशी कार्यक्रम प्रभावकारी बनेको उनको भनाइ थियो।

कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले सरकारका आर्थिक तथा सामाजिक रूपान्तरणका अभियानमा साना किसान अभियान निरन्तर सहकार्य गर्दै आएको बताए। आगामी दिनमा पनि सरकारका कार्यक्रम कार्यान्वयनमा संस्था र सदस्यहरू प्रतिबद्ध भएर लाग्ने उनले बताए।

अध्यक्ष पाठकले किसानको उत्पादनलाई बजारसँग जोड्ने व्यवस्था गर्न सरकारसँग आग्रह गरे। उत्पादन बढे पनि व्यवस्थित बजार अभावका कारण किसानले अपेक्षित लाभ लिन नसकेको उल्लेख गर्दै किसानमैत्री बजार प्रणाली विकास गर्न आवश्यक रहेको उनले बताए।

संस्थाका प्रमुख कार्यकारी अधिकृत वासु अधिकारीले संस्थाको आर्थिक तथा व्यावसायिक प्रगतिबारे जानकारी दिँदै दिगो विकास लक्ष्य प्राप्तिका लागि महिला, युवा, दलित, जनजाति, राउटे, बनकरिया तथा पछाडि परेका समुदायलाई कृषि उत्पादनमार्फत मूलधारमा जोड्ने काम भइरहेको बताए।

विश्व अर्थतन्त्रको प्रभाव नेपालका बैंक तथा वित्तीय संस्थामा पनि परेको उल्लेख गर्दै उनले त्यसबाट माथि उठ्न साना तथा लघु उद्यमको प्रवर्द्धन आवश्यक रहेको बताए। ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउँदै आर्थिक तथा सामाजिक रूपान्तरणमा संस्थाको भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न शाखा तथा साझेदार संस्थालाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको थियो। उत्कृष्ट शाखाका रूपमा नेपालगन्ज शाखा, राष्ट्रियस्तरमा साना किसान कृषि सहकारी संस्था खैरहनी–चितवन, साझेदार लघुवित्ततर्फ डिप्रोक्स लघुवित्त, कृषिबाहेकका साझेदार संस्थातर्फ सिम्रिक बचत तथा ऋण सहकारी संस्था तथा काठमाडौं शाखाअन्तर्गत अनैकोट, काभ्रेपलाञ्चोक सम्मानित भएका थिए।

सुझावित समाचार