इतरपक्षले महाधिवेशनका लागि सदस्यता अद्यावधिक आवश्यक नरहेको जोड गरिरहँदा सभापति गगन थापाले यस्तो गर्न नमिल्ने फेरि पनि बताएका छन् । जनसम्पर्क समिति जापानको अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले बरु महाधिवेशनको मितिका सन्दर्भमा छलफल गर्न सकिने बताएका हुन् ।
‘केही साथीहरू बाहिर हुनुहुन्छ, उहाँहरूलाई पटक–पटक भनेको छु– १५औँ महाधिवेशन सफल बनाउन के–के गर्नुपर्ने हो, म ती सबै कुराहरू गर्न तयार छु । महाधिवेशनको मितिमा छलफल गर्न तयार छु । पार्टीको सदस्यता छानबिन समिति बनाउने, निर्वाचन समिति, अनुशासन समितिबारे पनि छलफल गर्न तयार छु,’ उनले भने, ‘तर, क्रियाशील सदस्यता अद्यावधिक नगरी महाधिवेशनमा भाग लिन पाइँदैन । यो सम्भव छैन, त्यसको पछि लाग्ने काम नगरौँ ।’
विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति बनिसकेको र त्यसमा केही सदस्य मनोनीत गर्न सकिने, तर अघिल्लो केन्द्रीय कार्यसमितिलाई मिसाउन विधानले नदिने उनले स्पष्ट पारे ।