महोत्तरी र धनुषामा धान परीक्षण अनुगमन

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

धनुषा र महोत्तरीका विभिन्न स्थानमा सञ्चालन भइरहेका धान प्रदर्शन तथा सहभागितामूलक जातीय छनोट परीक्षणको अनुगमन गरिएको छ । राष्ट्रिय धान अनुसन्धान कार्यक्रम, नार्कअन्तर्गतको कोपिया नेपाल केन्द्रका निर्देशक डा. सङ योङ–जुको नेतृत्वमा रहेको टोलीले अनुगमन गरेको हो ।

डा. सुन्दरलाल श्रेष्ठ र डा. विनोद लुइँटेलसमेतको टोलीले बटेश्वर गाउँपालिकाका किसान मनोज थिङ र धनुषाधामका किसान दिलीपकुमार साहको खेतमा लगाइएको हर्दीनाथ– १, हर्दीनाथ हाइब्रिड–१ र चैते–५ जातका धानको जाँच गरेको छ ।

सो टोलीले चैते–५ जातले राम्रो वृद्धि, एकरूपता तथा सन्तोषजनक प्रदर्शन गरेको पाइएको बताएको छ । किसान थिङले हर्दीनाथ हाइब्रिड–१ र चैते–५ दुवै जातमा राम्रो उत्पादनको सम्भावना रहेको टोलीलाई जानकारी गराएका थिए । उनले हर्दीनाथ–१ बाट करिब ६ मन प्रतिकट्ठा उत्पादन हुने अपेक्षा रहेको बताए । अर्का किसान दिलीपकुमार साहले प्रदर्शन प्लटबाट आफू सन्तुष्ट रहेको बताउँदै आगामी वर्षका लागि बिउ सुरक्षित राख्ने बताए ।

टोलीले प्रदर्शन तथा सहभागितामूलक जातीय छनोट प्लटमा घाँटी झुल्सा रोगको अवस्थाबारे समेत जानकारी लिए । किसानले हालसम्म उक्त रोगको समस्या नदेखिएको बताएका थिए ।

यता बटेश्वर क्षेत्रमा सञ्चालित गतिविधिबारे स्थल इन्चार्ज राजु महासेठ तथा धनुषाधामका सहभागितामूलक जातीय छनोट र खेतस्तरीय परीक्षणका इन्चार्ज रवेन्द्रप्रसाद साहले परीक्षण तथा प्रदर्शन कार्यक्रमको प्रगतिबारे टोलीलाई जानकारी गराए ।

केन्द्रका निर्देशक डा. सङ योङ–जुले किसानसँग प्रत्यक्ष अन्तर्क्रिया गर्दै राष्ट्रिय धान अनुसन्धान कार्यक्रम र कोपिया परियोजनाबाट प्राप्त सहयोग, किसानको सन्तुष्टि तथा आगामी अपेक्षाबारे चर्चा गरे । उनले किसानले परियोजनाबाट प्राप्त प्राविधिक सहयोग र प्रदर्शन कार्यक्रम प्रभावकारी रहेको बताउँदै आगामी वर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।

डा. लुइँटेलले राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा. मथुरा यादव, कोपिया परियोजना प्रमुख डा. पल्लवीकुमारी सिंह तथा सहभागी किसानसँग परियोजनाको उपलब्धि, प्रभाव र भावी योजनाबारे छलफल गरेका थिए । अनुगमनका क्रममा निर्देशक डा. योङ–जुले आगामी परीक्षणमा विभिन्न बाली प्रणाली, बाली अवधिको प्रभाव, मुख्य सिजन र चैते धानको परिपक्वता अवधिको तुलना, लाइन रोपाइँ र छरुवा विधिबिचको उत्पादन अन्तर तथा विभिन्न बिरुवा दूरीको प्रभावसम्बन्धी अध्ययनलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए ।

अनुगमन टोली धनुषाधाम नगरपालिकाको मुरगाहास्थित सहभागितामूलक जातीय छनोट परीक्षण स्थल पनि पुगेको थियो । त्यहाँ निर्देशकले परीक्षणको अवलोकन गरी सहभागी किसानसँग विभिन्न धान जिनोटाइपको प्रदर्शन तथा किसानको रोजाइबारे जानकारी लिएका थिए । किसानले परीक्षणमा समावेश जिनोटाइपमध्ये नम्बर १ र नम्बर ७ लाई बढी रुचाएको उनको भनाइ थियो ।

उनका अनुसार किसानले आगामी दिनमा पनि राष्ट्रिय धान अनुसन्धान कार्यक्रमसँग सहकार्य गर्दै यस्ता परीक्षणमा सहभागी हुन इच्छा व्यक्त गरेका छन् ।

परियोजनाका धान संयोजकले परियोजनामार्फत प्रवर्द्धन गरिएका उन्नत जातको प्रत्यक्ष प्रभाव किसानको खेतमै देखिन थालेको बताउँदै नियमित तालिम, प्राविधिक परामर्श र निरन्तर अनुगमनका कारण किसानको ज्ञान र प्रविधि अपनाउने क्षमता उल्लेखनीय रूपमा वृद्धि भएको बताए ।

See More On

सुझावित समाचार