मोरङ कारागारका कैदीबन्दीको सुविधा फिरौती लिएको आरोपमा पक्राउ परेका विराटनगरका अभिषेक गिरीलाई काठमाडौं पठाइएको छ । आपराधिक पृष्ठभूमि रहेका विराटनगर– ८, मधुमाराका ४८ वर्षीय गिरीले गुन्डागर्दी गरेर अकुत सम्पत्ति कमाएको आरोपमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न सोमबार राति १० बजे कडा सुरक्षाबिच मोरङबाट काठमाडाैं पठाइएको हो ।
मोरङ कारागारका कैदीबन्दीको सुविधा र श्रमको रकम जेलभित्रै गिरोह बनाएर मिटरब्याजको धन्दा चलाएर असुली गर्ने गरेको आरोपमा १३ असारमा घरबाटै पक्राउ परेका गिरीलाई अब संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंमै हिरासतमा राखेर अनुसन्धान गर्नेछ । मोरङ प्रहरीले भने गिरीविरुद्ध दर्ता भएको आपराधिक लाभ कसुरको मुद्दा मात्र अनुसन्धान गर्नेछ ।
१३ असारमा घरबाटै पक्राउ परेपछि गिरीले उच्च अदालत विराटनगरमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गराएका थिए । उच्च अदालतले १७ असारमा पाँच दिनभित्र अनुसन्धान सक्न र नसकिएमा गिरीलाई थुनामुक्त गर्न प्रहरीलाई निर्देशनात्मक आदेश गरेको थियो ।
उच्च अदालतको सोही आदेशअनुसार मोरङ प्रहरीले गिरीलाई थुनामै राखिराख्न थप दुईवटा कसुर संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा अदालतमा सोमबार म्याद थप गराउन चाहेको थियो । तर, जिल्ला अदालत मोरङले दुवै कसुरमा म्याद थप्न इन्कार गरेपछि गिरीलाई थुनामक्त हुन नदिन मोरङ प्रहरीले राति १० बजे सिआइबीलाई जिम्मा दिन काठमाडौं लगेको हो ।
मोरङका एसपी कवित कटुवालका अनुसार सिआइबीले गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति पाइसकेको छ । एसपी कटुवालले भने, ‘यसैले अब गिरीलाई काठमाडौंकै हिरासतमा राखेर अनुसन्धान गर्नका लागि हामीले सिआइबीकाे जिम्मा लगाएका हौँ।’
जिल्ला अदालत मोरङले सोमबार नाइके गिरीसँगै हाजिर गराइएका सहयोगीहरू सञ्जय मण्डल, विनोदकुमार सिंह र विजय कामतलाई मोरङ प्रहरीकै हिरासतमा राखेर आपराधिक लाभ कसुरमा अनुसन्धान गर्नका लागि सात दिनको अनुमति दिइएको छ ।