भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी स्वामित्वको जग्गामा निर्माण गरी प्रयोग हुँदै आएका निजामती कर्मचारी ट्रेड युनियन तथा विभिन्न कर्मचारी संगठनका भवन र संरचना तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ।
मन्त्रालयका अनुसार नेपाल सरकारले निजामती कर्मचारी ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरेसँगै साबिकमा राष्ट्रियस्तरका ट्रेड युनियनका रूपमा रहेका केही संगठनले सरकारी जग्गामा निर्माण गरी प्रयोग गर्दै आएका भवन तथा अन्य संरचनाको कानुनी आधार समाप्त भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार तथा श्रम तथा व्यावसायजन्य सुरक्षा विभागबाट सम्बन्धित ट्रेड युनियनहरूको दर्तासमेत खारेज भइसकेको मन्त्रालयले जनाएको छ।
जारी सूचनाअनुसार सम्बन्धित संगठनहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र भवन तथा अन्य संरचना पूर्ण रूपमा खाली गरी आवश्यक कागजात, सम्पत्तिको जिम्मेवारी तथा भवनको साँचो मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउनुपर्नेछ। तोकिएको समयसीमाभित्र संरचना खाली नगरे प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने चेतावनी मन्त्रालयले दिएको छ।
मन्त्रालयले जिल्ला प्रशासन कार्यालयको रोहबरमा सम्बन्धित संगठनका भवनहरूमा समेत सूचना टाँस गरिएको जनाएको छ।
सूचनामा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ तथा मधेशी स्वास्थ्यकर्मी फोरम नेपाललगायतका संगठनले प्रयोग गरिरहेका सरकारी जग्गास्थित भवन तथा संरचना खाली गर्नुपर्ने उल्लेख गरिएको छ।
