पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीसँग लोकप्रियतावादबाहेक अन्य एजेन्डा केही नभएको टिप्पणी गरेका छन्।
पार्टीको रोल्पा जिल्ला समितिकाे दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै पुनले विचार र एजेन्डाविहीन पार्टीले ठाउँ र अवस्थाअनुसार बोल्ने र काम पनि त्यही गर्ने गरेको आरोप लगाए। निर्वाचनका समयमा मधेशमा गएर संघीयतालाई मजबुत बनाउने कुरा गरेको, सुदूरपश्चिम पुगेर विकासमा प्राथमिकता दिने कुरा गरेको रास्वपाले चुनाव जितिसकेपछि संघीयताकै विरुद्धमा बहस सुरु गरेर मतदाताको भावनामाथि खेलवाड गरेको उनको भनाइ छ।
‘निर्वाचन जितेपछि अहिले मनपरी गर्न थालेका छन्,’ पुनले भने, ‘यो कार्य मतदातामाथिको ब्ल्याकमेलिङ हो।’ उनले यो सबैका पछाडि साम्राज्यवादको हात रहेको जिकिर गरे।
पुनले लोकप्रियतावाद र दक्षिणपन्थी प्रतिक्रियावाद आफूहरूको चुनौती रहेको बताए। युवा मतदाताको जनसांख्यिक अवस्था, डायस्पोरा र डिजिटल माध्यमलाई बुझ्न नसक्दा नेकपा चुनावी परिणाममा केही कमजोर देखिएको उनको बुझाइ छ। रास्वपाले ८५ प्रतिशत सामाजिक सञ्जालमा निर्भर रहेर चुनावको उपयोग गरेको भन्दै उनले विचारसहितको क्रियाशील संगठन भएमा महासुनामी आएपनि केही फरक नपर्ने बताए।
‘फासिवादतिर गइरहेको सरकारविरुद्ध मोर्चाबन्दी आवश्यक’
नेता पुनले सरकारको फासीवादी कार्यशैलीविरुद्ध कांग्रेस–एमालेसँग मोर्चाबन्दी गर्नुपर्ने अवस्था आएको बताए। सरकारको गतिविधि हेर्दा संविधानमाथि नै खतरा आउनसक्ने अवस्था देखिएको भन्दै उनले संविधान र प्राप्त उपलब्धिको रक्षाका लागि पनि मोर्चाबन्दी आवश्यक रहेको तर्क गरे। सरकारको सर्वसत्तावादी र फासीवादी चरित्रविरुद्ध विरोध गर्नुपर्ने उनको भनाइ छ।
पुनले अर्को प्रसंगमा पार्टीलाई चुस्त दुरुस्त बनाउन सबै तहका संगठनमा ५० प्रतिशत युवा ल्याउने बताए। उनले नेकपालाई एकपटक युवाहरूको पार्टी बनाउने उद्घोष गरे।