कपिलवस्तुबाट स्रोत नखुलेको साढे पाँच लाख रुपैयाँ बरामद

सोमबार, २२ असार, २०८३
डिजिटल संस्करण

कपिलवस्तुको मायादेवी गाउँपालिका– २, अभिराव क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको पाँच लाख ४८ हजार पाँच सय रुपैयाँ बरामद गरेको छ।

गोप्य सूचनाका आधारमा गरिएको निगरानीका क्रममा मोटरसाइकलचालक फरार भए पनि मोटरसाइकलको सिटमुनि लुकाइराखिएको अवस्थामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको रकम र मोटरसाइकललाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि सुठौली भन्सार कार्यालय पठाइएको छ।

पकडी–चारकचौडा सडकखण्डअन्तर्गत पकडीबाट चारकचौडातर्फ जाँदै गरेको लु.३५प ८९५९ नम्बरको मोटरसाइकललाई प्रहरीले गोप्य सूचनाका आधारमा पछ्याएको थियो। प्रहरीलाई देख्नेबित्तिकै चालक मोटरसाइकल छाडेर फरार भएको र त्यसपछि गरिएको खानतलासीका क्रममा सिटमुनि लुकाइराखिएको नगद बरामद भएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक गणेशप्रसाद जैसीले बताएका छन्।

प्रहरीका अनुसार फरार चालकको खोजी तीव्र पारिएको छ भने बरामद रकमको स्रोत र उद्देश्यबारे अनुसन्धान भइरहेको छ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले यस्तो प्रकृतिका घटनामा प्रहरीले सूचना संकलन, निगरानी र कानुनी कारबाहीलाई अझ प्रभावकारी बनाएको बताए। 

उनले भने, ‘बरामद भएको रकमको वैध स्रोत खुल्न सकेको छैन। त्यसैले आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन रकम तथा मोटरसाइकल सुठौली भन्सार कार्यालय पठाउने तयारी गरिएको छ।’ फरार व्यक्तिको खोजी भइरहेको सिंहले जानकारी दिए।

सुझावित समाचार