महोत्तरी र धनुषामा धान परीक्षणको अनुगमन

सोमबार, २२ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय धान अनुसन्धान कार्यक्रम, नार्कअन्तर्गत धनुषा र महोत्तरीका विभिन्न स्थानमा सञ्चालन भइरहेका धान प्रदर्शन तथा सहभागितामूलक जातीय छनोट परीक्षणहरूको अनुगमन गरिएको छ। कोपिया नेपाल केन्द्रका निर्देशक डा. सङ योङ–जुको नेतृत्वमा रहेको टोलीले सो अनुगमन गरेको हो।

डा. सुन्दरलाल श्रेष्ठ र डा. विनोद लुइँटेलसमेत सहभागी रहेको सो टोलीले बटेश्वर गाउँपालिकाका किसान मनोज थिङ र धनुषाधामका किसान दिलीपकुमार साहको खेतमा स्थापना गरिएका प्रदर्शन प्लटमा लगाइएको हर्दीनाथ– १, हर्दीनाथ हाइब्रिड– १ र चैते– ५ जातका धानको जाँच गरेकाे हाे।

सिद्धार्थ सापकोटाले सहजीकरण गरेको सो टोलीले चैते– ५ जातले राम्रो वृद्धि, एकरूपता तथा सन्तोषजनक प्रदर्शन गरेको पाइएको बताएको छ। अनुगमन टोली पुगेको खेतका किसान मनोज थिङले हर्दीनाथ हाइब्रिड– १ र चैते– ५ दुवै जातमा राम्रो उत्पादनको सम्भावना रहेको टोलीलाई बताएका थिए। उनले हर्दीनाथ– १ बाट करिब ६ मन प्रतिकट्ठा उत्पादन हुने अपेक्षा रहेको बताए। अर्का किसान दिलीपकुमार साहले प्रदर्शन प्लटबाट आफू सन्तुष्ट रहेको बताउँदै आगामी वर्षका लागि बिउ सुरक्षित राख्ने बताए।

टोलीले प्रदर्शन तथा सहभागितामूलक जातीय छनोट प्लटमा घाँटी झुल्सा रोगको अवस्थाबारे समेत जानकारी लिए। किसानहरूले हालसम्म उक्त रोगको समस्या नदेखिएको बताएका थिए।

यता बटेश्वर क्षेत्रमा सञ्चालित गतिविधिबारे स्थल इन्चार्ज राजु महासेठ तथा धनुषाधामका सहभागितामूलक जातीय छनोट र खेतस्तरीय परीक्षणका इन्चार्ज रवेन्द्रप्रसाद साहले परीक्षण तथा प्रदर्शन कार्यक्रमको प्रगतिबारे टोलीलाई जानकारी गराएका थिए।

कोपिया नेपाल केन्द्रका निर्देशक डा. सङ योङ–जुले किसानहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै राष्ट्रिय धान अनुसन्धान कार्यक्रम र कोपिया परियोजनाबाट प्राप्त सहयोग, किसानको सन्तुष्टि तथा आगामी अपेक्षाबारे चर्चा गरेकोमा किसानहरूले परियोजनाबाट प्राप्त प्राविधिक सहयोग र प्रदर्शन कार्यक्रम प्रभावकारी रहेको बताउँदै आगामी वर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए।

यसै क्रममा डा. विनोद लुइँटेलले राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा. मथुरा यादव, कोपिया परियोजना प्रमुख डा. पल्लवीकुमारी सिंह तथा सहभागी किसानहरूसँग परियोजनाको उपलब्धि, प्रभाव र भावी योजनाबारे छलफल गरेका थिए।

अनुगमनका क्रममा निर्देशक डा. सङ योङ–जुले आगामी परीक्षणहरूमा विभिन्न बाली प्रणाली, बाली अवधिको प्रभाव, मुख्य सिजन र चैतेधानको परिपक्वता अवधिको तुलना, लाइन रोपाइँ र छरुवा विधिबिचको उत्पादन अन्तर तथा विभिन्न बिरुवा दूरीको प्रभावसम्बन्धी अध्ययनलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए।

अनुगमन टोली धनुषाधाम नगरपालिका–मुरगाहास्थित सहभागितामूलक जातीय छनोट परीक्षण स्थल पनि पुगेको थियो। त्यहाँ निर्देशकले परीक्षणको अवलोकन गरी सहभागी किसानसँग विभिन्न धान जिनोटाइपको प्रदर्शन तथा किसानको रोजाइबारे जानकारी लिएका थिए। किसानहरूले परीक्षणमा समावेश जिनोटाइपमध्ये नम्बर १ र नम्बर ७ लाई बढी रुचाएको बताएका छन्। उनीहरूले आगामी दिनमा पनि राष्ट्रिय धान अनुसन्धान कार्यक्रमसँग सहकार्य गर्दै यस्ता परीक्षणमा सहभागी हुन इच्छा व्यक्त गरेका छन्।

कोपिया परियोजनाका धान संयोजकले परियोजनामार्फत प्रवर्द्धन गरिएका उन्नत जातको प्रत्यक्ष प्रभाव किसानको खेतमै देखिन थालेको बताउँदै नियमित तालिम, प्राविधिक परामर्श र निरन्तर अनुगमनका कारण किसानको ज्ञान र प्रविधि अपनाउने क्षमता उल्लेखनीय रूपमा वृद्धि भएको बताए।
 

सुझावित समाचार