लागुऔषध मुद्दा खेपेका गाउँपालिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा पनि दायर भएको छ। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनले तीन करोड ४५ लाख ९९ हजार अकुत सम्पत्ति आर्जन गरेको भन्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले उनका बुबा वंशराज गुप्ता, आमा धानमती तेली, दुई श्रीमती शारदा आचार्य गुप्ता र सुलोचना गुप्ताविरुद्ध पनि सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ।
चार वर्षअघि उनीविरुद्ध लागुऔषध मुद्दा दायर भएको थियो।
व्यापारिक प्रतिशोधमा प्रहरी प्रयोग गरी दुई भारतीयलाई योजनाबद्ध रूपमा लागुऔषध मुद्दामा फसाउने घटनामा गुप्ताविरुद्ध लागुऔषध मुद्दा दायर भएको थियो। प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी रघुनाथ धोबी र विवेक पाण्डे तथा दुई भारतीय नागरिकविरुद्ध मुद्दा दायर गरेको थियो।
२२ असार २०७९ मा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो।
उनीहरूसँग २७० सेट डाइजेपाम, नुरर्फिन र फेनारगन लागुऔषध बरामद भएको प्रहरी दाबी थियो । प्रहरीको छानबिनका क्रममा घटना विवरण नै बनावटी भएको खुल्यो। कबाडी व्यापारको प्रतिस्पर्धामा यसरी उनले प्रतिस्पर्धीलाई प्रहरी लगाएर लागुऔषध मुद्दामा फसाएका हुन्।
नेपालमै कबाडीको व्यापार गर्दै रामा गुप्ताको विगतमा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष गुप्तासँग व्यावसायिक साझेदारी थियो । दुवैले मिलेर एक मोटरसाइकल कम्पनीको कबाडी सामानको ठुलो ठेक्का हात पारेका थिए । त्यो ठेक्काको २० प्रतिशत आम्दानी रामालाई दिने सहमति भएको थियो । जुन करिब डेढ करोड रुपैयाँ हुन्थ्यो । तर, गुप्ताले राजनीतिक शक्तिका आधारमा त्यो पैसा नदिएपछि उनीहरूबिच सम्बन्ध बिग्रिएको थियो।