कैलाली जिल्ला धनगढी उपमहानगरपालिका- ३, बोराडाँडी चोकमा भारतीय नम्बर प्लेटको कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ । कारको ठक्करबाट मोटरसाइकलकाे पछाडि सवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनगढी चौराहाबाट अत्तरियातर्फ जाँदै गरेको से.४प ९५२ नम्बरको मोटरसाइकललाई युपी ६५ इएक्स ०१०० नम्बरको भारतीय कारले ठक्कर दिँदा बैतडीको सिगास गाउँपालिका– १, गजकोटनिवासी ४८ वर्षीय पदम चन्द गम्भीर घाइते भई उपचारका लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।
दुर्घटनापछि फरार भएका कारचालक भारतको उत्तर प्रदेश, वाराणसी बस्ने ४२ वर्षीय अश्वनीकुमार सिंहलाई कारसहित जिल्ला कैलाली, गोदावरी नगरपालिका– ६ लालपुरबाट पक्राउ गरिएको छ ।
मोटरसाइकलचालक गौतम ऐरको सिपी अस्पताल धनगढीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।