फिफाले विश्वकप फुटबल प्रतियोगितामा समूह चरणदेखि फाइनलसम्म पुग्ने टोलीलाई ‘म्याच मनी’ प्रदान गर्छ । साथै, प्रतिजितमा टोलीहरूलाई थप बोनस दिइन्छ । विश्वकप सञ्चालन गर्ने रेफ्रीहरूले पनि निश्चित पारिश्रमिक पाउँछन् । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरिरहेको २३औँ संस्करणको विश्वकप सञ्चालन गर्न फिफाले कुल १७० अफिसियल नियुक्त गरेको छ । यसमध्ये ५२ जना मुख्य रेफ्री छन् ।
मुख्य रेफ्रीले खेल सञ्चालन गरिरहेका छन् । फिफाले ८८ जना सहायक रेफ्री (लाइन्सम्यान) नियुक्त गरेको छ । खेललाई विवादरहित बनाउन फिफाले ३० जना भिडियो म्याच अफिसियल (भिएआर) राखेको छ । फिफाले विश्वकप सञ्चालन गर्न छनोट गरेका १७० जना अफिसियललाई निश्चित पारिश्रमिक प्रदान गरेको छ । स्पेनिस पत्रिका मार्काले रेफ्रीका अनुभवअनुसार पारिश्रमिक तोकिएको जनाएको छ ।
मार्काका अनुसार उनीहरूले प्रतिखेल तीन हजारदेखि पाँच हजार अमेरिकी डलरसम्म पारिश्रमिक पाउँछन् । २०२२ मा कतारले आयोजना गरेको विश्वकपको तुलनामा यसपटक फिफाले अफिसियलहरूको पारिश्रमिक बढाएको मार्काले जनाएको छ । उनीहरूको योग्यता र अनुभवका आधारमा निर्धारण गरिएको छ ।’
२०१४ को तुलनामा दोब्बर पारिश्रमिक
२०१४ मा ब्राजिलमा भएको विश्वकप महँगो आयोजनामध्ये पर्छ । १२ वर्षअघि आयोजित उक्त विश्वकपमा रेफ्रीहरूले सोचेजस्तो पारिश्रमिक पाएनन् । फिफाले त्यसवेला क्वार्टरफाइनलसम्मका खेल सञ्चालन गर्ने रेफ्रीहरूलाई एकैपटक ५० हजार अमेरिकी डलर दिएको थियो । अहिले उनीहरूको पारिश्रमिक बढेको छ ।
मार्का, सिएनएन तथा सिन्ह्वाका अनुसार २३औँ संस्करणको विश्वकपमा रेफ्रीहरूको पारिश्रमिक दोहोरो अंकमा बढेको छ । १२ वर्षअघि एक रेफ्रीले प्रतियोगिताभरि ५० हजार डलर पाउँदा अहिले कम्तीमा एक लाख अमेरिकी डलर पाउँछन् । विश्वकपअघि नै रेफ्री प्यानल र फिफाबिच सम्झौता भएको सिएनएनले जनाएको छ । ‘मुख्य रेफ्रीलाई प्याकेजका रूपमा एक लाख अमेरिकी डलर दिइएको छ ।
ब्राजिलमा आयोजना भएको विश्वकपमा उनीहरूले ५० हजार अमेरिकी डलरसम्म पाएका थिए,’ सिएनएनले उल्लेख गरेको छ, ‘रेफ्री प्यानलका दोस्रो तहका सिनियर रेफ्रीहरूको हकमा ७० हजार अमेरिकी डलर एकमुस्ट पारिश्रमिक दिने सम्झौता भएको छ ।’ यसैगरी सहायक फिफा रेफ्रीले विश्वकपभर २५ हजार डलर अमेरिकी डलर लिएका छन् ।
नकआउट खेलाउनेलाई १० हजार डलर
समूह चरणमा खेल सञ्चालन गर्ने रेफ्रीले तीन हजारदेखि पाँच हजार अमेरिकी डलर पाउँछन् । नकआउट चरणका खेल खेलाउने रेफ्रीले प्रतिखेल १० हजार अमेरिकी डलर पाउने मार्काले जनाएको छ । अझ यसमा उनीहरूले बोनस पनि पाउँछन् । यसबिच, इंग्लिस प्रिमियर लिगका चर्चित पूर्वरेफ्री मार्क क्ल्याटनबर्गले फाइनल खेल सञ्चालन गर्ने रेफ्रीले ६० हजारदेखि ७० हजार अमेरिकी डलर बोनस पाउँछन् ।
उनको फाइनल खेलको पारश्रमिक छुट्टै छ । त्यस्तै, अस्ट्रेलियाका जारेड गिलेटजस्ता भिडियो म्याच अफिसियलका लागि छुट्टै विशेष पारिश्रमिकको व्यवस्था गरिएको जनाइएको छ । ‘विश्वकपमा जति धेरै खेल सञ्चालन गर्न अवसर पाउँछन् । उसको खातामा बोनस थप हुँदै जान्छ,’ सिएनएनले भनेको छ ।