डोल्पाको जगदुल्ला गाउँपालिका– ४, मौरेलेखमा कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको जिप दुर्घटना भयो । जिपमा सवार ११ मध्ये ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भयो । जगदुल्ला–४ स्थित माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको जिप मौरेलेख पुगेपछि सडकबाट २५ मिटर तल खस्यो । प्रारम्भिक अवस्था हेर्दा कारण थियो, कच्ची चिप्लो र साँघुरो सडक ।
जिप्रका डोल्पाका डिएसपी अनिलराज गिरीले भने, ‘लगातारको वर्षाले भिजेको कच्ची सडकमा जिपले नियन्त्रण गुमाएजस्तो देखिन्छ । यद्यपि अनुसन्धान हुँदै छ । दुर्घटनाको यकिन कारण त्यसपछि मात्रै खुल्ला ।’
रुकुमपूर्व सिस्ने गाउँपालिका– ४, झाँक्री पोलेस्थित रुकुमकोट–दादिङ भित्री सडकमा गत १७ असारमा लु१ज २४७० नम्बरको सफारी जिपले अचानक नियन्त्रण गुमायो । जिप पल्टिएर सडकभन्दा केही मिटर तल स्थानीय विद्यालयको छानोमा गएर अड्कियो । जिपमा सवार ६ यात्रु धन्न बाँचे । दुर्घटनाको कारण थियो, लगातारको वर्षाले भिजेको कच्ची चिप्लो र साँघुरो सडकमै ब्रेकफेल ।
दुर्घटना सम्बन्धमा सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले भने, ‘त्यसै त साँघुरो सडक, वर्षाका कारण चिप्लो थियो । त्यसमाथि ब्रेक फेल भएछ । सोही कारण जिपले नियन्त्रण गुमायो । धन्न विद्यालयको छानोमा गएर अड्किएकाले यात्रुको ज्यान जोगियो ।’
प्युठान स्वर्गद्वारी गाउँपालिकाका उपाध्यक्ष मीनराज रानामगरले जिप दुर्घटनामा ज्यानै गुमाए । गत १३ असारका दिन उनी आयोजना अनुगमन गर्न लुप्र ०१–००१ झ ०००८ नम्बरको बलेरो जिप आफैँले हाँकेर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै थिए । साँघुरो सडकमा मोड लिनुपर्ने देखियो । तर, पर्याप्त ठाउँ नहुँदा जिप सडकबाट चिप्लिन पुग्यो । सडकभन्दा ६ सय मिटर तल खस्यो । यसमा पनि दुर्घटनाको कारण थियो, कच्ची साँघुरो सडक ।
उक्त दुर्घटनाबारे प्युठानका डिएसपी नरहरि अधिकारीले भने, ‘सडक कच्ची थियो । मोड लिने क्रममा जिप दुर्घटना भएजस्तो देखिन्छ । त्यस दिन पानी नपरेको हुँदा चिप्लो भने देखिएन । यद्यपि, घटनाको अनुसन्धान भइरहेको छ, कारण खुल्दै जाला ।’
स्याङ्जाको वालिङ नगरपालिका– ७, लभ्लीडाँडास्थित मिर्दी–चापाकोट सडकखण्डमा १२ असारमा बिएए ७९०५ नम्बरको जिप दुर्घटना भयो । जिपमा सवार १९ मध्ये २५ वर्षीय राजेन्द्र बिरकट्टाको मृत्यु भयो । बाँकी गम्भीर घाइते भए । दुर्घटना भएको उक्त सडक खण्ड पनि कच्ची र साँघुरो नै थियो ।
यी सबै दुर्घटना एक महिनायताका हुन् । मुलुकभर सानाठुला गरी हरेक दिन १०४ दुर्घटना हुन्छन् । औसत ७ सर्वसाधारणले दैनिक ज्यान गुमाउँछन् भने १८ जना गम्भीर घाइते हुन्छन् । ज्यान गुमाउनेमध्ये अधिकांश २५ वर्षभन्दा माथिका युवा छन् । यस्ता दुर्घटना पछिल्ला दिन तराईभन्दा पहाडी भेगका सडकमा भइरहेका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनाराण काफ्ले विगतको तुलनामा दुर्घटनाको दर कम भएको, तर तराईभन्दा पहाडी भेगमा धेरै दुर्घटना भएको बताउँछन् । दुर्घटनाका अधिकांश कारण चालकको लापरबाही देखिए पनि पहाडी भेगमा भएका दुर्घटनाका कारण भने अध्ययनपछि मात्रै भन्न सकिने उनको भनाइ छ ।
‘विगतको तुलनामा अहिले दुर्घटना घटेका छन् । तर, जति दुर्घटना भएका छन्, ती पहाडी भेगका सडकमा भएको देखिन्छ । सामान्यतः अधिकांश दुर्घटनामा चालकको लापरबाही मुख्य कारण देखिन्छ । तर, पहाडी भेगमा भएका पछिल्ला दुर्घटनाको कारण भने अध्ययनपछि मात्रै भन्न सकिन्छ । पहाडी भेगका सडक साँघुरा र कच्ची छन् । बर्खामा चिप्लो हुँदा दुर्घटना बढेका हुन सक्छन् ।’
पहाडी भेगमा केही दुर्घटना कालोपत्रे फराकिलो सडकमा पनि भएका छन् । गत १८ असारमा दैलेखको चामुण्डा नगरपालिका– ७ स्थित कर्णाली राजमार्गको साङ्गेतारा क्षेत्रमा कार्णली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दुर्घटना भएको थियो । कर्णाली नदीमा खस्दा बसमा रहेका पाँचमध्ये एकको शव रुखमा अड्किएको अवस्थामा फेला पर्यो भने चार अझै बेपत्ता छन् ।
‘सडक पक्की र फराकिलो छ । तर, पनि दुर्घटना भयो । गाडी र चार यात्रु अझै बेपत्ता छन्,’ जिप्रका दैलेखका डिएसपी श्रवणकुमार विकले भने । नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो ०७७–७८ देखि ०८१–८२ सम्म पाँच वर्षमा मुलुकभर यस्ता दुर्घटना एक लाख ८८ हजार ४७६ वटा भएका छन् । जसमा १२ हजार ६७७ जनाले ज्यान गुमाएका छन् भने ३२ हजार ६०४ गम्भीर घाइते भएका छन् ।
प्रहरीको तथ्यांकअनुसार मुत्यु हुनेमध्ये सबैभन्दा धेरै मधेश, लुम्बिनी र कोशी प्रदेशका छन् । पाँच वर्षको तथ्यांक विश्लेषण गर्दा यस अवधिमा मधेश प्रदेशमा मात्रै दुई हजार ७४८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । त्यस्तै, यही अवधिमा लुम्बिनी प्रदेशमा दुई हजार ५२५ ले ज्यान गुमाए भने कोशी प्रदेशमा दुई हजार २०० को मृत्यु भयो । पूर्व–पश्चिम राजमार्गको अधिकांश भाग यही प्रदेशमा पर्ने भएकाले त्यस क्षेत्रमा दुर्घटना बढेको प्रहरीको बुझाइ छ । राजमार्गमा सवारीसाधनको गति तीव्र हुने र सोही सडक खण्डमा मानव बस्ती धेरै रहेका कारण दुर्घटना बढेको प्रहरीको दाबी छ ।
५५.५८ प्रतिशत दुर्घटना चालकको लापरबाहीबाट
नेपाल प्रहरीले तथ्यांकअनुसार मुलुकभर सबैभन्दा धेरै दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको देखिन्छ । पछिल्लो पाँच वर्षमा मुलुकभर एक लाख ८८ हजार ४७६ दुर्घटना भए । जसमध्ये एक लाख पाँच हजार २७० दुर्घटना चालकको लापरबाहीका कारण भएको देखिन्छ । यो कुल दुर्घटनाको ५५.८५ प्रतिशत हो ।

सबैभन्दा धेरै दुर्घटना तीव्र गतिका कारण भएको देखिन्छ । यस अवधिमा मात्रै तीव्र गतिका कारण ४६ हजार ३९८ दुर्घटना भए । त्यस्तै, लाइसेन्सविनाका चालकले चलाउँदा यो अवधिमा १२ हजार ९५९ दुर्घटना भएका छन् । मादक पदार्थ सेवन दुर्घटना हुने अर्को कारण हो । यस अवधिमा पाँच हजार ५३३ दुर्घटना मापसेका कारण भएको देखिन्छ । त्यस्तै, ओभर टेक गर्दा नौ हजार ९२२ दुर्घटना भएका छन् । ट्राफिक नियम उल्लंघन गर्दा चार हजार २४२ दुर्घटना भएका छन् । जथाभावी बाटो काट्दा ४७१, चालक निदाउँदा एक हजार २७७, मोबाइल फोन चलाउँदा ६८८ सवारी दुर्घटना भएका छन् । बाँकी २३ हजार ७८० दुर्घटना भने अन्य कारण भएको देखिन्छ ।
यस्ता छन् चालकबाट हुने गल्ती
कारण दुर्घटना
ट्राफिक नियम उल्लंघन ४,२४२
जथाभावी ढोका खोल्ने ४७१
ओभरटेक ९,९२२
तीव्र गति ४६,३९८
चलाउँदा निदाएको १,२७७
मापसे ५,५३३
मोबाइल फोन प्रयोग ६८८
विनालाइसेन्स १२,९५९
अन्य २३,७८०
जम्मा १,०५,२७०
दुर्घटनाका कारण
चालक लापरबाही १,०५,२७०
यात्रुका कारण ६,९४३
सडकका ३,१७५
यान्त्रिक कारण २,९९७
चौपाया ५२१
मौसम ४६५
नखुलेको ६९,१०५
जम्मा १,८८,४७६
यात्रु, सडक, यन्त्र पनि दुर्घटनाका कारण
प्रहरी तथ्यांकअनुसार चालक मात्र होइन, सवारी दुर्घटना हुने कारण यात्रु आफैँ पनि हो । पाँच वर्षको अवधिमा भएका ६ हजार ९४३ दुर्घटना यात्रुका कारण भएका छन् । अधिकांश यस्ता दुर्घटना गाडी चढ्दा, ओर्लँदा, बाटो काट्दा, झुन्डिएर यात्रा गर्दा, छतमा चढ्दा हुने गरेका छन् । त्यसबाहेक सडकको दुरावस्था पनि सडक दुर्घटना हुने अर्को कारण हो । सडक कारण मात्रै मुलुकभर यस अवधिमा तीन हजार १७५ दुर्घटना भएका छन् । त्यस्तै, यान्त्रिक गडबडी दुर्घटनाको अर्को कारण हो । यसको कारण मात्रै यस अवधिमा दुई हजार ९९७ दुर्घटना भए । त्यसबाहेक चौपायाका कारण ५२१, मौसमका कारण ४६५ दुर्घटना भएका छन् । ६९ हजार १०५ दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन ।