लामो समयदेखि जीर्ण रहेको कुलो मर्मत भई सञ्चालनमा आएपछि संखुवासभाको खाँदबारी नगरपालिका– ४ का कृषक खुसी भएका छन्। खाँदबारी– ४, मानेभन्ज्याङ चिसोपानीनजिकै बाक्चेखोला मुहानको सिँचाइ कुलो मर्मतपछि स्थानीयहरू खुसी भएका हुन्।
यसअघि कुलो बिग्रिएर खेतमा पानी पुर्याउन समस्या हुँदा खेतीपाती प्रभावित हुँदै आएको थियो। कुलो मर्मतपछि अहिले खेतबारीमा सहज रूपमा पानी पुगेको छ, जसका कारण धान रोपाइँ तीव्र गतिमा अघि बढेको स्थानीय कृषकहरूको भनाइ छ।
बाक्चेखोलादेखि मोहने खेत हुँदै खाँदबारी– ३, गुवाबारी मरुवासम्म आउने सिँचाइ कुलो बिग्रिएको ठाउँ–ठाउँमा करिब ५० मिटर मर्मतसम्भार गरिएको हो। उक्त कुलो प्रयोग गरी सो क्षेत्रका करिब सात सय रोपनी क्षेत्रफलमा रोपाइँका साथै हिउँदे बालीनाली लगाउँदै आएका थिए। तर, वर्षौँ अगाडिदेखि कुलो भत्किएर, ठाउँ–ठाउँमा छिद्रा र प्वाल परेर मुहानबाट पानी हाले पनि बिचैमा हराउने समस्याका कारण स्थानीयहरूले सास्ती खेप्दै आएका थिए।
खाँदबारी– ४ का स्थानीय कृषक मनोज राईले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको कार्यालयले कुलो मर्मत गर्न सहयोग गरेपछि राहत मिलेको बताए। उनले वर्षौँ अगाडिदेखि बाबुबाजेको पालादेखि नै चलिआएको पुरानो कुलो ठाउँ–ठाउँ भत्किनुका साथै दुलो परेर पानी चुहिने समस्या भइरहेको वेला मर्मतपछि ठुलो सहयोग मिलेको बताए।
अर्का स्थानीय सजित राईले बाक्चेखोला कुलोको नाम मात्रै रहेको वेला कार्यालयको सहयोगले कुलो पुनर्निर्माणपछि कृषकहरूलाई राहत मिलेको बताए। उनले अहिले खोला मुहानमा पानी हालेपछि खेतीसम्म सिँचाइका लागि सहज रूपमा पानी पुग्ने गरेको बताउँदै आगामी दिनमा समेत कार्यालयले सहयोग गरिदिन आग्रह गरे। कुलो भत्किएपछि खेती लगाउन कृषकहरूलाई समस्या भइरहेको समयमा मर्मतपछि सहज भएको राईको भनाइ छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ संखुवासभाका प्रमुख नवराज गुरुङले चालू आर्थिक वर्ष ०८२/८३ मा सिँचाइ पूर्वाधार निर्माण तथा मर्मतसम्भार कार्यक्रमअन्तर्गत बाक्चेखोलामा रहेको पुरानो कुलोलाई मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएको बताए। कुल ६ लाख ५० हजार रुपैयाँ लागत सहयोगमा कुलो मर्मतसम्भार योजना सम्पन्न भएको बताउँदै उनले कार्यालयको तर्फबाट पाँच लाख ५० हजार रुपैयाँ र बाँकी स्थानीयको जनश्रमदानबाट सम्पन्न भएको बताए।
वर्षौँदेखि जीर्ण अवस्थामा रहेको सिँचाइ कुलो मर्मत सम्पन्न भएपछि प्रत्यक्ष रुपमा ७० घरधुरी लाभान्वित भएका छन् भने सात सय रोपनी क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ संखुवासभा, स्थानीय उपभोक्ता समिति र स्थानीयवासीको श्रमदानबाट कुलो मर्मत गरिएको हो।