नेपाल खेलकुद प्रतिष्ठान खोटाङले यही असार २२ र २३ गते दिक्तेल बजारमा कोशी प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ।
प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश, विराटनगरको आर्थिक सहयोग, जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजन, कोशी प्रदेश बुद्धिचाल संघको सहआयोजन तथा जिल्ला बुद्धिचाल संघ खोटाङको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।
आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका सचिव मिलन कसजूका अनुसार प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु. ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
दशौँ स्थानसम्म नगद पुरस्कारको व्यवस्था गरिएको प्रतियोगितामा द्वितीय, तृतीय, चौथो, पाँचौँ र छैटौँ हुने खेलाडीलाई क्रमशः रु. १५ हजार, रु. १० हजार, रु. आठ हजार, रु. सात. हजार र रु. ६ हजार प्रदान गरिनेछ। यस्तै, सातौँ, आठौँ, नवौँ र दशौँ स्थान हासिल गर्ने खेलाडीलाई जनही रु. पाँच हजार प्रदान गरिने जनाइएको छ।
प्रतियोगितामा सात समूहअन्तर्गत विभिन्न विधामा पनि पुरस्कारको व्यवस्था गरिएको छ। महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु. सात हजार, रु. पाँच हजार र रु. चार हजार प्रदान गरिनेछ। विद्यार्थीतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः रु. पाँच हजार, रु. चार हजार र रु. तीन हजार प्राप्त गर्नेछन्।
त्यस्तै, खोटाङ जिल्लातर्फ प्रथम हुने खेलाडीलाई रु. चार हजार तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकातर्फ प्रथम हुने खेलाडीलाई रु. तीन हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
रेटिङतर्फ १७०० र १६०० मुनिका खेलाडीलाई जनही रु. चार हजार, उमेर समूहअन्तर्गत १६ वर्षमुनिका खेलाडीलाई रु. चार हजार तथा १२ वर्षमुनिका खेलाडीलाई रु. तीन हजार पुरस्कार प्रदान गरिनेछ। साथै, प्रदेशभरका खेलाडीमध्ये हिल च्याम्पियन (उच्च पहाडी क्षेत्रका उत्कृष्ट खेलाडी) लाई रु. चार हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ।
स्विस लिग फर्म्याट (स्विट्जरल्यान्डमा प्रचलित प्रणाली) अनुसार सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिब रु. आठ लाख २४ हजार खर्च लाग्ने अनुमान गरिएको छ।
दिक्तेल बजारस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना हुने प्रतियोगिताको औपचारिक उद्घाटन प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्यसचिव विप्लव घोषले गर्ने आयोजकले जनाएको छ।