झापाको अर्जुनधारा नगरपालिका– ८, सब्जिमन्डीबाट २३.५५० ग्राम खैरो हेरोइनसहित एक पुरुष पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाको टोलीले अर्जुनधारा– ८ का ४१ वर्षीय सरोज गहतराजलाई शनिबार पक्राउ गरेको हो।
ब्युरो र मातहतका शाखा कार्यालयले भारतबाट नेपालमा लागुऔषध सप्लाई गर्ने गिरोहको प्रोफाइलिङ गर्ने क्रममा झापा पानतापाडा सुरुंगा नाकामा शंकास्पद गतिविधि गर्ने व्यक्तिलाई सुरुंगादेखि सब्जिमन्डीसम्म निगरानी गरेको थियो।
सब्जिमन्डी आइपुगेपछि चेकजाँच गर्दा गहतराजकाे साथबाट २३.५५० ग्राम खैरो हेरोइन बरामद गरी पक्राउ गरिएको र आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झापा अनारमनी बुझाइएको प्रहरीले जनाएकाे छ।
गहतराजले यसअघि दुई फरक मुद्दामा सात वर्ष कैद भुक्तान गरिसकेको खुलेको छ। उनी यसअघि जबर्जस्ती करणी मुद्दामा ६ वर्ष र लागुऔषध मुद्दामा एक वर्ष कैद भुक्तान गरी छुटेको पाइएको हो। प्रहरीका अनुसार ०७१ वैशाख ३१ गते बलात्कारको मुद्दामा र ०८१ वैशाख २३ गते लागुऔषध खैरो हेरोइन मुद्दामा पक्राउ परी कैद भुक्तान गरेका थिए।