फोटो पत्रकार (पिजे)क्लबले आयोजना गरेको सुरक्षा तथा जोखिम व्यवस्थापन सम्वन्धी तालिम सम्पन्न भएको छ । पत्रकार महासंघको सभाहलमा सञ्चालित तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत ३०भन्दा बढी फोटो पत्रकारहरुको सहभागी थियो ।
सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा भएको यस तालिममा, अनुभवी प्रशिक्षक तथा विषयविज्ञहरूले प्रशिक्षण दिएका थिए । इरानी प्रशिक्षक डा. बेहरु मोगद्दसीले फोटो पत्रकारहरूले राजनीतिक आन्दोलन, प्राकृतिक प्रकोप, महामारी, द्वन्द्वग्रस्त अवस्था, प्रदर्शन, तथा संवेदनशील सामाजिक घटनाको प्रत्यक्ष र उच्च जोखिमपूर्ण परिस्थितिमा अग्र भागमा रहेर काम गर्दा अपनाउनुपर्ने आवश्यक सुरक्षासम्बन्धी तालिम दिएका थिए ।
वरिष्ठ फोटोपत्रकार चन्द्रशेखर कार्कीले फिल्ड रिपोर्टिङका क्रममा अपनाउनुपर्ने सुरक्षा मापदण्ड र आपतकालीन अवस्था (प्रदर्शन, द्वन्द्व, प्राकृतिक प्रकोप) मा फोटो पत्रकारले अपनाउनुपर्ने सचेतता, जोखिम मूल्यांकन र व्यक्तिगत सुरक्षा योजनाका विषयमा प्रशिक्षण दिएका थिए ।
फोटो पत्रकार विकास कार्कीले फिल्ड सेफ्टीः प्रदर्शन, द्वन्द्व र संवेदनशील घटना कभर गर्दा अपनाउनुपर्ने सावधानी , सुरक्षात्मक उपकरण, मानसिक स्वास्थ्य, तनाव व्यवस्थापनमा फोटो पत्रकारले गर्नुपर्ने कार्यका बारेमा प्रशिक्षण दिएका थिए ।
फोटो पत्रकारहरूका लागि लक्षित, व्यवस्थित र व्यावहारिक सुरक्षा तथा जोखिम व्यवस्थापन तालिम सीमित मात्रामा उपलब्ध रहेको वर्तमान सन्दर्भमा भएको यस तालिमले फोटो पत्रकारहरूका लागि आगामी दिनमा जोखिमपूर्ण परिस्थितिमा सुरक्षित रूपमा काम गर्ने सिप विकास गर्न सक्षम बनाएको फोटो पत्रकार क्लबले जनाएको छ ।
दिन प्रतिदिन बढ्दै गएको जोखिमपूर्ण परिस्थिति, प्राकृतिक विपत्तिलगायतको जोखिमपूर्ण स्थलहरूमा सवैभन्दा पहिला र अग्रस्थानमा रहेर जोखिमपूर्ण काम गर्नुपर्ने फोटो पत्रकारहरूको सुरक्षा र जोखिम व्यवस्थापनसम्बन्धी क्षमता विकासमा यस तालिमले ठुलो सहयोग गर्ने विश्वाससमेत क्लबले लिएको छ ।