गृहमन्त्री सुधन गुरुङ शनिबार अचानक विराटनगर आइपुगेका छन् । बुद्ध एयरको जहाजबाट शनिबार बिहान मन्त्री गुरुङ कुनै औपचारिक कार्यक्रमविनै विराटनगर आइपुगेका हुन् । मन्त्री गुरुङ बिहान ११ बजेर ७ मिनेटमा विराटनगर विमानस्थलमा पर्यटकको भेषमा उत्रिएका थिए ।
गृहमन्त्री गुरुङ अचानक काठमाडाैंबाट विराटनगरतर्फ उडेको जानकारी पाएपछि सुरक्षा निकायका सबै अधिकारीहरू हतारहतार उनको स्वागत गर्न विराटनगर विमानस्थल पुगेका थिए ।
मोरङका सिडिओ युवराज कट्टेलले गृहमन्त्री सुधन गुरुङ विराटनगर आएर सबै सुरक्षा निकायसँग सीमा क्षेत्रको सुरक्षा अवस्थाबारे ब्रिफिङ लिइरहेको र आजै विराटनर जोगबनी नाका र सीमा क्षेत्रको प्रत्यक्ष अवालोकन भ्रमणमा जाने बताए ।
शुक्रबार साँझदेखि नै गृहमन्त्री गुरुङ सीमा क्षेत्रको छड्के अनुगमनमा पैदलमार्ग हुँदै सुनसरी भएर मोरङ आउने हल्ला चलेपछि सुरक्षा निकायहरूबिच खैलाबैला मच्चिएको थियो । गृहमन्त्री गुरुङले केही दिनअघि पर्साको सीमा क्षेत्रमा पनि भेष बदलेर चोरी तस्करी र सीमा अपराधबारे अनुगमन गरेका थिए ।