तीसको दशकमै चर्चाको शिखरमा पुग्न सफल गीतकार नारायणकुमार आचार्य आजका मितिसम्म पनि गीत सिर्जनामा उत्तिकै क्रियाशील छन् । २०३५ सालमा आचार्यको शब्द, दीपक जंगमको संगीत तथा तारा थापाको स्वरमा रहेको ‘हजारचोटि जन्मुँला तिमीलाई पाउन...’ बोलको गीत रेकर्ड भई रेडियो नेपालबाट प्रसारण हुन थालेपछि आचार्यको नाम स्थापित गीतकारका रूपमा दर्ज भयो ।
२०८३ साल जेठमा आचार्यको शब्दमा युवा पुस्ताबिच चर्चित गायिका एलिना चौहानको स्वरमा रहेको ‘प्रेमको ताजमहल...’ बोलको गीतलाई पनि श्रोता एवं दर्शकले निकै रचाएका छन् । यसरी झन्डै पाँच दशकसम्म अनवरत गीत सिर्जनामा सक्रिय अब्बल गीतकारको सूचीमा आचार्यको नाम अग्रपंक्तिमा आउँछ । यस अवधिमा आचार्यले मायाप्रेम, मिलन–विछोड, घात–प्रतिघात, ईश्वरभक्ति, प्रकृतिको आराधनासहित राष्ट्रप्रेममा आधारित दर्जनौँ गीत तथा गजल लेखेका छन् ।
गीतकार आचार्य गीतलाई अन्तरमनको भाव पोख्ने एक सशक्त माध्यमको रूपमा व्याख्या गर्छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट आचार्यले हालै नेपाली संगीतको लोकप्रियता र विकासमा गीत लेखनको माध्यमबाट विशिष्ट योगदान दिएबापत (२०८३, वैशाख २५) संगीत महर्षि नातिकाजी श्रेष्ठको नाममा स्थापित प्रतिष्ठित ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान’ प्राप्त गरेका छन् ।
नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बाट सेवानिवृत्त आचार्यले नेपाल प्रहरीसहित नेपाली सेना र सशस्त्र प्रहरीका लागि देशभक्ति तथा कर्तव्यपरायणताबाट प्रेरित सदावहार गीत–कविताहरू लेखेका छन् । महत्वपूर्ण यी तीनै सुरक्षा निकायका लागि गीत–कविता लेख्ने सम्भवतः एक मात्र स्रष्टा आचार्य नै हुन् । २०५६/५७ सालमा आचार्यले जिल्ला प्रहरी कार्यालय भक्तपुरको सुरक्षा प्रमुख (प्रहरी उपरीक्षक) हुँदा लेखेको गीत ‘विश्व–सम्पदा जोगाउने हाम्रो रहर, कला संस्कृतिले सुसज्जित यो सहर, यो नगर भक्तपुर, नेपालीको धरोहर’ बोलको गीतले भक्तपुरको ‘नगरगान’को रूपमा सदावहार ख्याति कमाएको छ ।
आचार्यलाई यो गीतबापत भक्तपुर नगरपालिकाले एक विशेष समारोहबिच सम्मान गरेको थियो । आचार्य भन्छन्, ‘मेरो यो गीतबाट प्रेरित भएर मुलुकभरका विभिन्न पालिकाले हाल आ–आफ्ना पालिकाकेन्द्रित गीत तयार गर्ने होडबाजी नै चलेको छ ।’ प्रेमध्वज प्रधानको पुस्तादेखि प्रवीण बडुवाल तथा मीरा राणादेखि रजिना रिमालसम्मको पुस्ताले आचार्यका कालजयी शब्दमा आफ्नो स्वर भरेका छन् । उदितनारायण झा, ओमविक्रम विष्ट, प्रकाश श्रेष्ठ, दीपक खरेल, आनन्द कार्की, कुमार कान्छा, रवीन शर्मा, मुरलीधर, मधु क्षेत्री, लोचन भट्टराईलगायत नेपाली सांगीतिक क्षेत्रका स्वनामधन्य गायक गायिकाले आचार्यका जीवन्त एवं मार्मिक शब्दमा मनोहर स्वर दिएका छन् ।
‘तिमीलाई सुनाखरी भनेर बोलाऊँ कि...’ (स्वर: उदितनारायण, संगीत: दीपक जंगम), ‘त्यो नजरको बयान म गरूँ कसरी...’ (स्वर/संगीत: मुरलीधर) ‘बदनाम भई नजाऊँ, तिम्रो मुस्कानमा...’ (स्वर: ओमविक्रम विष्ट, संगीत: कृष्ण उदास) आचार्यको शब्दमा स्वराङ्कित अति नै चर्चित गीत हुन् । आचार्यको नाममा तिम्रो सम्झना, मेरी माया, मनभित्रका आवाज, अधुरो तिमीविना नामका गीति एल्बम प्रकाशित भएका छन् । सशक्त कविको रूपमा समेत आफूलाई स्थापित गराएका आचार्यको ‘मनभित्रका आवाजहरू’ नामक चर्चित कविता संग्रह प्रकाशित छ, जसमा गीत र गजलको पनि बेजोड सम्मिश्रण पाइन्छ ।
यस कृतिलाई शुभाशिष दिँदै राष्ट्रकवि माधवप्रसाद घिमिरले लेखेका छन्, ‘नारायणकुमार आचार्यका गीतको शैली, गजल, गीत र लोकगीतबिचको शैली हो । उनी केन्द्रीय भावलाई स्थायीमै दिन्छन्, अन्तरामा अरू भावतिर नअल्मलिएर त्यही केन्द्रीय भावलाई विस्तारित गर्छन् । उनको यो विशेषता प्रशंसनीय छ ।’ वि.सं २०२६ सालमा ‘जिन्दगी छ, सानो बिर्सेर बिर्सिंदैन’ शीर्षकको कविताबाट साहित्यिक लेखनयात्रा सुरु गरेका आचार्यको यो पहिलो कविता नै बाल दिवस (भाद्र ४) मा पुरस्कृत भएको थियो ।
आचार्यको यस कवितामा ५७ वर्षपछि चर्चित गायक प्रवीण बडुवालले स्वर तथा डिजे एल एक्स पौडेलले संगीत दिएका छन् । गीत–संगीतको क्षेत्रमा वर्षौंअघिदेखि बौद्धिक तथा आर्थिक रूपमा सबैभन्दा शोषित हुँदै आएका गीतकारहरू अहिले प्रविधिको जमानामा समेत ठगिनु परेको आचार्य गुनासो गर्छन् । कतिपय अवस्थामा गीतकारले नै गायक तथा संगीतकारलाई पारिश्रमिक दिनुपर्ने, म्युजिक भिडियोको लागत व्यहोर्नुपर्ने तथा अहिलेका विविध सामाजिक सञ्जालको खर्चसमेत दिनुपर्ने भएकाले गीतकारहरू पाइला–पाइलामा आर्थिक रूपमा शोषित भएको आचार्यको भनाइ छ ।
सञ्चार माध्यमले गीत प्रसारण गर्दा गायक–गायिकाको मात्र नाम लिने विगतको परम्परा अहिले पनि यथावत् रहेको दुखेसो पनि उनी गर्छन् । ‘गीत’का जननी भनेका गीतकार नै हुन् । तर, गीतकार नै यसरी बौद्धिक तथा आर्थिक रूपमा शोषित हुनु ठुलो विडम्बना भएको आचार्यको तर्क छ ।
२०१० साल भदौ ३ गते बाराको कलैयामा जन्मिएका आचार्यले समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । प्रहरी सेवामा भर्ती भएपछि निरन्तर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम लिएका आचार्यले नेपाल प्रेस इन्स्टिच्युटबाट व्यावसायिक पत्रकारिताको समेत ज्ञान हासिल गरेका छन् । आचार्य २०५२/५३ मा नेपाल टेलिभिजनद्वारा प्रसारित ‘प्रहरी अनुरोध’ कार्यक्रमको निर्देशकको भूमिकामा रहे भने उनले केन्द्रीय प्रहरी समाचार कक्षको प्रमुखको भूमिकासमेत कुशलतापूर्वक निर्वाह गरे । कवि हृदयका आचार्य सुरक्षा रणनीतिमा पनि उत्तिकै निपूण मानिन्थे ।
७३ वर्षको उमेरमा पनि आचार्य गीत सिर्जनासहित अन्य सामाजिक काममा समेत निकै सक्रिय छन् । आचार्य गीतकार संघ, अभिनव साहित्य समाज, भैरव पुरस्कार गुठी, सुरभि साहित्य प्रतिष्ठान लगायतका गीत तथा साहित्यसँग सम्बन्धित संघसंस्थामा आबद्ध छन् । आचार्य बन्धु समाज, नेपाल सम्पदा संघ, नेपाल रेडक्रस, नेपाल परिवार नियोजन संघ, जेपी प्रतिष्ठान मैत्री आश्रम, चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषलगायत सामाजिक तथा धार्मिक संघसंस्थामा पनि आचार्यको आबद्धता छ । स्वदेशका करिब ५५ जिल्ला तथा अमेरिका, चीन, जापान, सिंगापुर, कम्बोडिया, हाइटीलगायत मुलुकको भ्रमण गरिसकेका आचार्य नियात्रा लेखनमा पनि निकै रुचि राख्छन् ।
गीत कहिलेसम्म लेखिरहनुहुन्छ भन्ने प्रश्नको जवाफमा आचार्य भन्छन्, ‘चौबीसै घण्टा व्यस्त रहनुपर्ने सुरक्षा कर्ममा संलग्न हुँदासमेत त मैले सोखको रूपमा लगातार गीत लेखिरहेँ भने अहिले त म अवकाशको जीवन व्यतीत गर्दै छु, त्यसैले गीत सिर्जनामा अहिले अझ बढी तल्लीन छु र आमश्रोताबाट विगतमा झैँ निरन्तर माया पाउने लक्ष्यसहित माता सरस्वतीको पुत्रस्वरूप जीवनपर्यन्त गीत लेखिरहनेछु ।’ उनी जीवनमा सफलताको सूत्र श्रोताको माया भन्न रुचाउँछन् । वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारीले भनेझैँ, ‘चिरपरिचित गीतकारको रूपमा आचार्यले कमाएको नाम नै उनले आर्जन गरेको सबैभन्दा ठुलो सफलता हो ।’